PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

गच्छदार र भगवतीको टक्कर : गन्न बाँकी क्षेत्रमा कसको भोट कति?



पहिलोपोस्ट

गच्छदार र भगवतीको टक्कर : गन्न बाँकी क्षेत्रमा कसको भोट कति?

काठमाडौं : नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदार र वाम गठबन्धनका उम्मेदवार भगवती चौधरीबीचको चुनावी टक्करले सुनसरी क्षेत्र नम्बर तीनको स्थगित मतगणना मंगलबारसम्म पनि सुरु हुन सकेको छैन। निर्वाचन कार्यालयले मतगणना गर्न आग्रह गरे पनि वाम गठबन्धनका प्रतिनिधिहरुले दिएका छैनन्।

मतगणनामा लिड गर्दै आएकी वाम गठबन्धनकी उम्मेदवार चौधरीको गच्छदारसँग मतान्तर एक सय ५५ पुग्दा वामका प्रतिनिधिहरुले मतगणना बहिस्कार गरेका थिए।

दुहबी नगरपालिका, गढी गाउँपालिका र इटहरीको दश नम्बर वडाको मत गन्न बाँकी छ। दुहवी नगरपालिकामा विजय गच्छदारका भाइ बेद गच्छदार मेयरमा निर्वाचित भएकाले त्यहाँ उनको विजय गच्छदारको प्रभाव बढी छ। कांग्रेसमा प्रवेश गर्नुअघि फोरम लोकतान्त्रिक बाटै बेद विजयी भएका थिए। त्यसकारण दुहवी नगरपालिकामा गच्छदारको मत बढी हुने गच्छदार पक्षधरको दाबी छ।

त्यस्तै, गढी गाउँपालिकामा कांग्रेसले जितेको हो। त्यहाँ फोरम लोकतान्त्रिकको पनि राम्रो उपस्थिति थियो। त्यसकारण अहिले गच्छदारलाई त्यहाँबाट पनि राम्रो मत आउने बताइएको छ। 

त्यस्तै, इटहरी नगरपालिका १० मा कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा वाम गठबन्धन भन्दा बढी रहेको छ।

‘हाम्रो पकेट क्षेत्र आउँदा वाम गठबन्धनका उम्मेदवारले लफडा गर्न थालेको छन्। चुनाव हार्ने निश्चित भएपछि जसरी पनि अल्झाउने प्रयासमा उनीहरु लागेका हुन्,' गच्छदार निकटका कांग्रेसका नेता रंजीत झाले पहिलोपोस्टसँग भने, ‘निर्वाचन कार्यालयले मतगणना गर्न भने पनि वामका प्रतिनिधिहरुले बहिस्कार गरेका छन्।’

यता भगवती चौधरी पक्षधरहरुले मतपेटिकामा शंका लागेको भन्दै मतगणना रोक लगाएका हुन्। उनीहरुले वाम मतदाता भएको ठाउँमा गच्छदारले बढी मत पाएको भन्दै रोक लगाएका हुन्।

हालसम्म गणना भएको मतपरिणाममा चौधरीले २९ हजार ३ सय २६ मत ल्याएकी छन् भने गच्छदारले २९ हजार एक सय ७१ मत ल्याएका छन्।

दुई पक्षबीच विवाद बढ्दै गएपछि मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। 


यी दुईको मत परिणामको ट्रेन्ड हेर्न यहाँ क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell