PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सार्कको कार्यक्रम समितिको ५४ औँ बैठक काठमाडौंमा सुरु, सार्कलाई प्रभावकारी र परिणाममुखी बनाउन नेपालको आग्रह



पहिलोपोस्ट

सार्कको कार्यक्रम समितिको ५४ औँ बैठक काठमाडौंमा सुरु, सार्कलाई प्रभावकारी र परिणाममुखी बनाउन नेपालको आग्रह

काठमाडौँ :  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका नाताले नेपालले यसलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ। 

सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ। 

सार्क सचिवालयमा आजदेखि सुरु भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम समितिका अध्यक्ष एवं परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले संगठन र त्यसअन्तर्गतका निकायका निर्णय समयमा नै कार्यान्वयन गर्नु अपरिहार्य भएको बताए। 

भट्टराईले सार्कका गतिविधि सदस्य मुलुकका नागरिकले महसुस गर्ने किसिमका हुनुपर्छ भन्दै सार्क संयन्त्रका बैठक एवं अन्य गतिविधि प्रभावित हुन नहुने बताए। 

सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क प्रक्रियालाई गति दिन अथक प्रयास भइरहेको र त्यस क्रममा सातौँ आन्तरिक मामिला÷गृहमन्त्रीस्तरीय र छैटौँ स्वास्थ्यमन्त्रीस्तरीय बैठक सम्पन्न भएको जानकारी दिए। 

महासचिव सियालले सार्क सचिवालयलाई सबल, सुदृढ र प्रभावकारी बनाउन सचिवालयबाट सम्पादित कामको विवरण प्रस्तुत गरे। 

महाशाखा प्रमुख भट्टराईका अनुसार बैठकमा सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल हुनेछ । 

सहसचिव भट्टराईको नेतृत्वमा जारी बैठकमा सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव, क्षेत्रीय केन्द्र र विशिष्टीकृत निकायका अधिकारी गरी ५० जना सहभागी छन्। बैठक भोलिसम्म चल्नेछ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell