
काठमाडौं : सर्लाही क्षेत्र नम्बर चारको स्थगित मतगणना सुरु भएको छ। राजपाका उम्मेदवार राकेश मिश्र एक हजार मतले अगाडि रहँदा कांग्रेसका उम्मेदवार डा. अमरेश सिंह र राजपा पक्षधरबीच विवाद भएको थियो।
राजपाका उम्मेदवार मिश्रले मलंगवामा 'कर्फ्यु' लगाएर मतगणना सुरु भएको बताए। प्रशासनले त्रास फैलाएर राजपाका समर्थकलाई कमजोर पारी मतगणना सुरु गरेको आरोप उनको छ।
तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले पहिलोपोस्टसँग भने, ‘सुरक्षाकर्मी थपिएकोले त्यस्तो देखिएको हुनसक्छ। कुनै कर्फ्यु लगाइएको छैन।’
राजनीतिक सहमतिका आधारमा मतगणना सुरु भएको कटुवालले बताए। मत गणनासँगै पटक पटक तनावग्रस्त बन्दै आएको यहाँ राजपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा राजपाका कार्यकर्ता घाइत भएका थिए।
मंगलबार विहान राजपाका अध्यक्ष मण्डलका सदस्य एव सर्लाही क्षेत्र नम्बर दुईबाट निर्वाचित महेन्द्र राय यादवको संयोजकत्वमा एक समिति बनाएर छलफल गरी मतगणना सुरु गरिएको हो।
विवाद हुनुअघि ५५ वटा मत पेटिका गन्न बाँकी रहेको थियो। जसमा ३० वटा मत पेटिकाको मत गन्न सुरु गरिएको छ।
विवादको कारण
अमरेश सिंहका पकड रहेको गाउँ बलरामा प्रत्येक चुनावमा बुथ कब्जा हुने गरेको थियो। यस पटक बलराको चार नम्बर वडा जब्दीमा मात्र कांग्रेसले बुथ कब्जा गर्न सकेको राजपाका कार्यकर्ताहरुले आरोप लगाएका छन्।उक्त बुथबाट ९६ प्रतिशत मतदान भएको छ तर स्थानीयले मतदान नै गर्न नगएको दावी गरेको राजपा कार्यकर्ताको आरोप छ। यसलै विवाद सुरु भएको हो। उक्त विवादित बुथको मत पेटिका थाँती राखेर बाँकी मात्र मत गन्ने सहमति भएको छ। थाँती राखिएको मतपेटिकाको सीलसमेत तोडिएको छ।
थाँती राखेको मतपेटिकाको मत कसरी गणना गर्ने अझै यकिन भएको छैन।