PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बस दुर्घटनामा बेपत्ता तीनको शव फेला



पहिलोपोस्ट

चितवन :  मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। 

प्रहरीका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो। 

कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो। कार्की र थापासँगै अर्का सनाखत नभएका पुरुषको शव पनि फेला परेको छ। 

दुर्घटनामा सात जना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभई नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ। परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सात जना बेपत्ता भन्दै आएको थियो।

बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिए पनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ। शाही काठमाडौँमै सकुशल रहेको प्रनाउ ढकालले जानकारी दिए। 

उनका अनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैँडाकोट ३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाँची रौनामैनाका शंकर कुँवर छन्। बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिए। 

तीन जनाको शव भेटिएसँगै दुर्घटनामा मृतकको संख्या १० पुगेको छ। घटनामा २२ जना घाइते भएका थिए। लु २ ख २९१ नम्बरको बस काठमाडौं गइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell