PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

किन पराजित भयो कांग्रेस? यसो भन्छन्–विश्वप्रकाश र बालकृष्ण



पहिलोपोस्ट

किन पराजित भयो कांग्रेस? यसो भन्छन्–विश्वप्रकाश र बालकृष्ण

  •  भीष्मराज ओझा 
काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । 

मंसिर १० र २१ गते सम्पन्न दुबै चरणका निर्वाचनमा कांग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला।

कांग्रेस नेताहरु पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन्। 

कुल १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा काँग्रेसले अन्तिम नजितासम्म २१ सिटमा मात्र विजय हासिल गरेको छ भने पार्टीका एक से एक हस्तीहरु पराजित भएका छन्। 

पराजित हुनुमा वाम गठबन्धनबाहेक नाम मात्रको लोकतान्त्रिक गठबन्धन निर्माण, पार्टीभित्रको गुटबन्दी र अन्तरघात, प्रभावकारी चुनावी मुद्दा नहुनु, कांग्रेस नेतृत्वमा भएका राम्रा काम जनतालाई बुझाउन नसक्नुलगायत कारणबारेमा पार्टीमा बहस हुन थालेको छ। 

कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टीका नेता बालकृष्ण खाँण २०७० सालको निर्वाचनमा दोस्रो र तेस्रो दलका रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेपछि अंकगणितीय रुपमा वाम गठबन्धनको भोटको संख्या बढी देखिएको बताउँछन्। 

नेता खाँण भन्छन्,‘दुई दलको भोट गाभियो। तटस्थ भोटलाई ठूलो संख्यामा हामीले आकर्षित गर्न सकेनौँ, उहाँहरुले आफ्ना भोटलाई सुरक्षित गर्न सक्नुभयो र परिणाम ल्याउन सफल हुनुभयो।’यद्यपि समानुपातिकतर्फको मत भने कांग्रेसको मत प्रत्यक्षजस्तो कम देखिँदैन। 

कांग्रेसले राष्ट्रिय राजनीतिमा हालसम्म खेल्दै आएको भूमिकाका कारण आम मतदातालाई सोहीअनुसारको अपिल हुन्छ भन्ने भरोसा रहेको तर परिणाम भने २०६४ सालको संविधानसभा निर्वाचनजस्तै आएको उनको टिप्पणी छ। 

कांग्रेसले स्थापनाकालदेखि नै मुलुकका हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व गर्दै आएको उनी बताउँछन्। विसं २००७ मा राणा शासनको अन्त्य, २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना, २०६२/०६३ सालको शान्तिपूर्ण जनआन्दोलन र गणतन्त्र स्थापना, नेपालको संविधान जारी गरी मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसारको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै खाँण भन्छन,‘मुलुकका हरेक परिवर्तन र विकासका लागि कांग्रेसको सान्दर्भिकता झनै बढेको छ।’ 

अब कांग्रेस प्रतिपक्षमा रहने र संविधान कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने उनले बताए। तर उनले कसैले संविधानमा आमूल परिवर्तन गर्ने, राजनीतिक व्यवस्था परिवर्तन गर्ने र ५० वर्षसम्म कम्युनिष्ट शासन चलाउँछाै‌ भन्यो भने त्यसविरुद्ध शान्तिपूर्ण रुपमा पार्टी पंक्ति र जनता परिचालन गर्ने बताए। 

कतिपय नेता भने पार्टीभित्रका विकृति र आन्तरिक कलहलाई पराजित हुनुको मुख्य कारण ठान्छन्। पार्टीका एक पुराना नेता तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचनमा पुनः उम्मेदवारी दिन लगाउनु नै गल्ती भएको बताउँछन्। प्रमुख दलबीचको सहमति त्यही बेलादेखि टुटेको र परिणामस्वरुप वाम गठबन्धन बनेको उनको तर्क छ। 

नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्,‘पार्टी नेतृत्वको असक्षमता, तदर्थवादमा पार्टी सञ्चालन गर्नु, आफ्ना नातागोता तथा पार्टीमा कुनै योगदान नभएकालाई पैसा लिएर टिकट वितरण गर्नु, पार्टीमा योगदान भएका पुराना नेता कार्यकर्तालाई बेवास्ता गर्नु वा पाखा लगाउनु पार्टी पराजयका कारण हुन्।’ 

पार्टीका युवा नेता विश्वप्रकाश शर्मा पनि निर्वाचनको मुखमा दुई ठूला कम्युनिष्ट दलबीच भएको वाम गठबन्धन नै पार्टी पराजयको प्रमुख कारण भएको ठान्छन्। उनी भन्छन्,‘हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पहिलो र तेस्रो बनेका दुई दल एमाले र माओवादी केन्द्र मिल्दा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम आउने त कुरै भएन।’

यसबाहेक कांग्रेसले आफ्नो नेतृत्वमा गरेका राम्रा काम जनतासमक्ष पुर्याउन नसक्नु, शान्ति स्थापना र संविधान निर्माणमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका जानकारी गराउन नसक्नु कमजोरी भएको उनी स्वीकार  गर्छन्। 

पार्टीको संगठन कमजोर भएका कारण उपरोक्त काम गर्न नसकिएको उल्लेख गर्दै शर्मा प्रहरी महानिरीक्षक प्रकरण र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पनि पार्टी पराजयको कारण हुनसक्ने आँकलन गर्छन्। तत्काल केन्द्रीय समितिको बैठक बोलाई यसबारेमा गम्भीर समीक्षा गर्नुपर्ने माग उनी गर्छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell