काठमाडौं: अभिनेत्री स्वेता खड्काको फिल्म ‘कान्छी’मार्फत कमब्याक हुँदैछ। घोषणासँगै माघ २६ लाई रिलिज टार्गेट तय गरिएको थियो। र फिल्म रिलिज बारे श्वेताले भनेकी थिइन्,'कान्छी प्रदर्शन मिति सर्दैन।'
बहुप्रतिक्षित बनेको अनमोल केसी अभिनित फिल्म 'कृ' युनिटले पनि माघ २६ लाई नै रिलिज टार्गेट घोषणा गर्योल। अनमोल केसीका फिल्मले व्यवसायिक रुपमा राम्रो प्रदर्शन गर्दै आएको छ। यस्तोमा कान्छीसँग रिलिज मिति जुध्नुले कान्छीको व्यवसायमा असर गर्न सक्ने संकेत थियो। तर कान्छी बनेकी श्वेताले अडान लिइन्,'कान्छी कुनै पनि हालतमा सर्दैन।'
उनी कन्फिडेन्ट सुनिनुमा उनको अघिल्लो फिल्म कोहिनुरको सफलता पनि हुनसक्छ। किनकी फिल्मले ६ करोड ग्रस कलेक्सन गरेको थियो। तर सोमबार 'कान्छी' युनिटले नयाँ रिलिज टार्गेट लियो। फिल्म फागुन ४ बाट मात्र प्रदर्शनमा आउने घोषणा भयो। जसबारे श्वेता खड्काले फेसबुकमा जानकारी दिएकी छिन्।
उनले लेखेकी छिन्,' स्वर्गिय दादा (श्रीकृष्ण श्रेष्ठ) को मिल्ने मित्रका साथै उहाँको देहवसानपछि मलाई हौसला, आँट र साहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणिय दाजु भुवन केसी ज्युको लागि मैले आफ्नो चलचित्रलाई केही दिन पछाडी सार्ने यो निर्णय प्रती कुनै किसिमको लाज,सरम र संकोच को भाव महसुस गरिरहेको छैन।'
फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन्। 'कान्छी’मा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहेको छ। यम थापाको कथामा बनेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ। अन्य कलाकर अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको अभिनय छ।