
साउदी अरबमा ३५ वर्ष भयो सार्वजनिक हल नभएको। हलिउडले 'गोल्डेन ग्लोब अवार्ड'को ७५ औं संस्करणको मनोनयन सार्वजनिक गरिरहँदा साउदी अरबको फिल्म इन्डस्ट्री केही फरक खुशी मनाउँदै छन्। सार्वजनिक पर्दामा फिल्म देखाउन मिल्ने कानुन घोषणासँगै फिल्म निर्माता र दर्शकहरुमा खुशी छाएको हो।
साउदी अरबमा ३५ वर्षदेखि फिल्म हलहरुका लागि प्रतिबन्ध लगाइएको थियो। राजकुमार महोमद बिन सलमानको सामाजिक र आर्थिक विकासको परियोजना अन्तर्रगत फिल्म संचालन हुने भएको। उनकै परियोजना अन्तर्गत साउदीका हलहरुले व्यवसायिक लाइसेन्स पाउने भएका छन्।
साउदीमा पहिलो हल सन् २०१८ को मार्चसम्ममा बन्ने एपी न्यूजले जनाएको छ। रिपोर्टका अनुसार साउदी अरबको सरकाले सन् २०३० सम्ममा दुई हजार स्क्रिनसहित तीन सय हल सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। सार्वजनिक रुपमा फिल्मलाई प्रतिबन्ध लगाए पनि वर्षमा केही फिचर फिल्म र डकुमेन्ट्रीहरु भने निर्माण हुँदै आएका थिए। जसलाई स्याटलाइट टिभी र अनलाइनहरुमार्फत प्रशारण गरिन्थ्यो। साउदी सरकारले नै फिल्मकर्मीहरुको लागि अरब केन्द्रित फिल्म महोत्सव आयोजना गर्दै आएको थियो। यो वर्ष पनि उक्त महोत्सवमा ६० फिल्महरु प्रदर्शन भए।
सन् २०१३ मा त साउदी अरबको फिल्म 'वाद्ज्दा' एकेडेमी अवार्डका लागि चयन भएको थियो।
सरकारले आर्थिक र सामाजिक विकासको लक्ष्य लिएर फिल्म हल निर्माणको निर्णय गर्दा जनतामा भने फरक खुशी छाएको छ। साउदी सरकारले थिएटरबाट वार्षिक ९० बिलियन रियालको कारोबार गर्ने अनुमान गरेको छ।