PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

चितवनमा इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, ८ घाइते



राजेन्द्र आचार्य

चितवनमा इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, ८ घाइते

चितवन : पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित बि.के. इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब ४ बजे इट्टा तयार गर्ने क्रममा राउण्डको भित्ता अचानक भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षिय सलिना डाँगीको मृत्यु भएको हो।

उनको कलेज अफ मेडिकल साइन्स (पूरानो मेडिकल कलेज) अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनालगत्तै घाइतेहरुलाई चितवनको भरतपुर स्थित नारायणी सामुदायिक अस्पताल पूर्‍याइएको थियो।

घाइते हुनेहरुमा कालिकानगरपालिका, सूर्यपुरकी कान्छीमाया बोमजन, कालिका–३ की निर्मला थिङ, कालिका–१ कि सरिता बोमजन, रोल्पा घर भएका रिमा बुढामगर, भुप बहादुर पुन, दिलबहादुर क्षेत्री, दिपा पुन रहेका छन्। त्यस्तै भारत बिहार स्थायी घर भएका अब्दुल रहिमको नारायणी सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

इट्टा भट्टामा मजदुरहरु पुरिएपछि तत्कालै एक्साभेटरले खनेर उद्धार गरिएको उद्योगका संचालक श्याम कृष्ण महर्जनले जानकारी दिए। सो इट्टा भट्टामा केही वर्ष अगाडि पनि राउण्डको आगोमा परि १ जनाको मृत्यु भएको र चट्याङका कारण पनि मजदुरहरुको मृत्यु तथा घाइते पनि भएको स्थानीय वासीले बताए।

२५ वर्ष अगाडि देखि सोही स्थानमा संचालित सो उद्योगमा करिब २ सय ५० कामदार कार्यरत रहेको उद्योगका मेनेजेर शेषकान्त पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell