
काठमाडौँ: समानुपातिक तर्फको जारी मतगणनामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ। बुधबार बिहान ९ः३० बजेसम्म निर्वाचन आयोगले प्रेसित गरेको तथ्याङ्क अनुसार थ्रेसहोल्ड कटाउने दलको संख्या ५ पुगेको छ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमसँगै राजपाले पनि थ्रेसहोल्ड कटाएको हो।
तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन।
तीन प्रतिशत मत पुर्याउन राप्रपा र विवेकशील साझा पनि संघर्षरत छ। यी दलहरुले दुई प्रतिशत मत कटाइसकेका छन्। विवेकशील साझाले काठमाडौँ रहेको प्रदेश ३ बाट राम्रो मत ल्याएको छ।समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ५३ लाख १ हजार ८२८ मत गन्दा एमालेले सबैभन्दा बढी ३५.१ प्रतिशत मत ल्याएको छ। नेपाली कांग्रेसले भने ३३.४ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।
यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४३ सिट पाउँथ्यो भने कांग्रेसले ४१ सिट पाउँथ्यो।
माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १३.७ प्रतिशतमात्रै छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १७ सिट पाउँथ्यो। फोरमले ४.३ प्रतिशत मत पाएको हुनाले ५ सिट पाउनेछ भने राजपाले भर्खर ३ प्रतिशतको थ्रेसहोल्ड कटाएको हुनाले ४ सिट पाउनेछ। थप मतगणनासँगै पाएको मतका आधारमा यो सिट संख्या हेरफेर हुनेछ। अरु कुनै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए ठूला दलले पाउने सिटको संख्या कम हुँदै जानेछ।
यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।
कसले कति मत ल्याए?