
ढाका : बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र सात सय भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि खोप अभियान सञ्चालन गरेको छ।
म्यानमारमा जातिय हिंसा चर्किएपछि केही महिना पहिले भागेर बङ्गलादेश पुगेका ६ लाख ४६ हजार रोहिङ्ग्याहरू रहेका शिविरमा भ्यागुते रोगको सङ्क्रमण भेटिएको हो।
बङ्गलादेशको सरुवा रोग तथा महामारी नियन्त्रण शाखाका प्रमुख मिर्जादि सब्रिना फ्लोराले भने,‘अहिलेसम्म नौजनाको भ्यागुते रोगको प्रकोपका कारण मृत्यु भएको हुनसक्ने देखिएको छ।’
सङ्क्रमण देखिएका ७ सय मध्ये अधिकांश बालबालिकासहित १०४ जनामा २४ घण्टाभित्र रोगको सङ्क्रमण देखिएको बङ्गलादेशको स्वास्थ्य सेवा विभागले जनाएको छ।
अधिकारीले शरणार्थी शिविरमा भीड भएका स्थानमा दुई छुट्टै एकाई बनाई पर्याप्त बास र खाना साथसाथै औषधोपचारको पहुँच नपुग्ने रोहिङ्ग्या शरणार्थीलाई सेवा प्रवाह गर्ने बताएका छन्।
खोपका कारण पछिल्ला केही दशक यता भ्यागुते रोगका विरामी लगभग उन्मूलनको चरणमा पुगेको बताउने गरिन्छ। यस रोगका कारण श्वासप्रश्वासमा सङ्क्रमण हुने र समयमा उपचार सेवा नलिएमा यसले ज्यानै लिने खतरा हुन्छ।
सरकार र राष्ट्रसङ्घीय निकायको संयुक्त पहलमा सातवर्षमूनिका दुई लाख ५० हजार शरणार्थी बालबालिकालाई खोप दिने तयारी थालिएको छ। रासस/सिन्ह्वा