
वासिङटन : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा यसको जानकारी दिएका हुन्।
अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएका छन्।
यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन। अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उनको आफ्नै हो या त्यसमा राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन।
विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र विना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने बताए।
एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीले भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी दिएका छन्।
अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो। विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुको बारेमा केही कुरा राखेको थिएन।
तर परमाणु अस्त्रको बारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रष्ट पारे। यसअघि अमेरिकाले केही समय अघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने भन्दै आएको थियो। रासस/एएफपी/सिन्ह्वा