PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

४७ मतले दुवै गठबन्धनलाई हराउने छक्कबहादुरको खातामा यसअघि पनि ८ मतको जित



सविन ढकाल

४७ मतले दुवै गठबन्धनलाई हराउने छक्कबहादुरको खातामा यसअघि पनि ८ मतको जित

काठमाडौं : वाम गठबन्धन देशभर नै विजयी भइरहँदा प्रतिनिधि सभाको सांसद बन्न सफल भएर सबैलाई छक्क पारे। यसरी छक्क पार्ने अरु कोही थिएन हुम्लाका प्रतिनिधि सभाका एकमात्र स्वतन्त्र विजयी उम्मेद्वारमा छक्कबहादुर लामा। 

लामाले विजयी हुँदा सबैलाई छक्क पारे पनि आफू भने छक्क पर्ने अवस्थामा थिएनन्। उनलाई जित आफ्नै पोल्टामा छ थियो।
पहिलोपोस्टसँगको कुराकानीमा लामाले भने, 'म विजयी हुन्छु भन्ने पहिले नै थाहा थियो। साथीभाइले पहिले नै शुभकामना दिएका थिए। हारको कुनै डर थिएन।' 

लामा आफूले कम मतअन्तरले जितेकोमा भने अझै पनि विश्वास गरिरहेका छैनन्। उने भने, 'आठ सय मत अन्तरले विजयी हुन्छु भन्ने थियो। खोई कसरी ४७ मत अन्तरमा समेटिएँ।' 

लामा २०४८ सालको निर्वाचनमा संयुक्त जनमोर्चाबाट हुम्लामा विजयी भएका थिए। उनले नेपाली कांग्रेसका चक्रबहादुर शाहीलाई ८ मतान्तरले हराएका बताए। उनी भन्छन्, 'संयोग नै हो कि के हो मेरो मतान्तर सधै यस्तै भइरहेको छ। पहिले पनि कम मतान्तरले नै जितेको हुँ।'

जनमोर्चाको तर्फबाट संसद सदस्यमा जित्दा स्वतन्त्र उम्मेदवार विजयी भएका लामा पूर्वराज्य मन्त्री पनि हुन्। त्यपछि उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरे। उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत भए। प्रतिनिधि सभामा उनी वामगठवन्धनको तर्फबाट नै चुनाव लड्ने तयारीमा थिए। 'मलाई जिल्लाभित्र नै जालसाजी भयो। मलाई दिने टिकट गठबन्धनका तर्फबाट माओवादीकै छिमी दोर्ची लामालाई दियो। यो पार्टीले गलत गर्‌यो,' उनले भने।

पार्टीले टिकट नदिएपछि स्वतन्त्रमा उम्मेद्वारी दिएको उनले बताए। हुम्लाको जनताले मलाई रुचाएका थिए। म विकासप्रेमी हुँ। आजसम्म १ रुपैयाँ पनि भष्टाचार गरेको छैन। मन्त्री हुँद नि गरिन। त्यो नै मेरो विजयको आधार थियो,' उनले भने। स्वतन्त्रबाट सांसद भए पनि उनी आफू माओवादी नेता नै भएको दावी गर्छन्।

२०७० को संविधान सभा निर्वाचनमा पराजित भएका लामा यो पटको निर्वाचन निकै दौडधुप गर्नुपरेको बताउँछन्। निर्वाचन निकै खर्चिलो भएको उनले सुनाए, 'तराईमा चुनाव बरु कम खर्चिलो हुँदो हो। यहाँ त निकै महँगो हुँदोरहेछ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell