PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

शुक्र, प्रतिमा र सुबास एसियन फाल्डो सिरिजका लागि छनोट



पहिलोपोस्ट

शुक्र, प्रतिमा र सुबास एसियन फाल्डो सिरिजका लागि छनोट

काठमाडौँ : शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधी जितेका छन्।

च्याम्पियन शुक्र बहादुर राईसँगै प्रतिमा शेर्पा र सुबाष घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा समेत छनोट भएका छन्।

प्रतिमा महिलातर्फ च्याम्पियन बनिन् भने सुबास यू-१६ तर्फ च्याम्पियन बनेका हुन्।

गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ ओभर २२७ स्कोरका साथ उपाधी जितेका हुन्। उनले २ ओभर ३८ मा फ्रन्ट नाईनको खेल सकाए। पहिलो र चौथो होलमा बर्डी प्रहार गरेपनि दोस्रो होलमा बोगी र सातौँ होलमा ट्रिपल बोगी खेप्न बाध्य भए। यसपछि १५ औ र १७ औ होलमा एक एक सट गुमाउदा ब्याक नाईन पनि २ ओभर ३८ मा पुरा गरे।

७ ओभर ७९ स्कोरसहित समग्रमा २३७ स्कोर जोडेका बिपिन तामाङ दोस्रो भए। ८१ अंक सहित समग्रमा २४९ को नतिजा निकालेका सुरेश तामाङ तेस्रो भए।

महिलातर्फ डिफेण्डिङ च्याम्पियन प्रतिमा शेर्पाले कसमिरा शाहलाई ३७ स्ट्रोकको भारी अन्तरमा हराउँदै उपाधी रक्षा गरिन्। शेर्पाले अन्तिम दिन ४ ओभर ७६ स्कोर गरी समग्रमा १४ ओभर २३० को नतिजा निकाल्दै समग्रमा ३७ स्ट्रोकको सहज जित हात पारिन्।

उनले दोस्रो, आठौँ र नवौँ होलमा बोगी प्रहार गर्दा चौथौँ र सातौँ होलमा बर्डीको सफलतासँगै फ्रन्ट नाईन १ ओभर ३७ मा पुरा गरिन्। ब्याक नाईन भने ३ ओभर ३९ मा सकाउने क्रममा १०औँ, १२औँ, १४औ र १७औँ होलमा बोगी खेप्दा १८औँ होलमा बर्डी प्रहार गरिन्।

९१ स्कोर जोडेकी कसमिरा शाह समग्रमा २६७ सहित दोस्रो र २९२ स्कोर सहित प्रतिभा राई तेस्रो भइन्।

यसैगरी १२ देखी १६ वर्ष उमेर समुहतर्फ भारतीय खेलाडी मोनिष शाहलाई १ स्ट्रोकले हराउँदै सुबाष घिसिङ उपाधी जित्न सफल भए। उनले ४ ओभर ७६ स्कोरसहित समग्रमा २३२ अंक जोडे। फ्रन्ट नाईन ईभन पार ३६ मा पुरा गरेका सुबाषले दोस्रो होलमा एक सट खेर फालेपनि चौथो होलमा बर्डी प्रहार गरे। यसपछि १०औँ होलमा बर्डी प्रहार गरेपनि १४औँ र १७औँ होलको बोगी तथा १५औँ होलको ट्रिपल बोगीले ब्याक नाईन ४ ओभर ४० मा पुरा गरे।

१ ओभर ७३ स्कोरसहित समग्रमा २३३ को नतिजामा मोनिष शाह दोस्रो र २३८ स्कोरसहित बिनोद तामाङ तेस्रो भए।

नेपाल गल्फ संघ र गोकर्ण फरेष्ट रिसोर्टद्वारा संयुत रूपमा आयोजित ३ दिने प्रतियोगितालाई आईएसएमी प्रालीले मुख्य प्रायोजन गरेको थियो।

विजयी खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, पूर्व अध्यक्ष मधुबर याकतुम्बा, विदेशी प्रशिक्षक किम बाल्डवीन, एनजिएका उपाध्यक्ष पवित्र कार्की, काठमडौँ जिल्ला गल्फ संघका अध्यक्ष मदन राणा र रोयल नेपाल गल्फ क्लबका क्यापटेन नरेनद्र कुमार राईले पुरस्कार वितरण गरे।

प्रतियोगितामा काठमाडौँ उपत्यका लगायत पोखरा, धरान र भारतका गरी २३ खेलाडीको प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell