PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एक जोडीको छैटौं पटक संसद यात्रा



नेत्र तामाङ

एक जोडीको छैटौं पटक संसद यात्रा

काठमाडौं : २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ सालमा पहिलो आम निर्वाचन भयो। त्यसको २६ वर्षपछि संघीय गणतान्त्रिक नेपालको पहिलो निर्वाचन भर्खरै सकियो। यी दुई निर्वाचनको बीचमा भएका सबै आवधिक निर्वाचनमा जित हासिल गर्ने दुईमात्र पात्र छन्।
नेपाली राजनीतिमा धेरैले सबैभन्दा बढी दुत्कार्छन् फेरि यिनैलाई। २०४८ सालमा सँगै संसदको यात्रा थालेका यी दुई बीचमा एकअर्काका कटु विरोधी पनि भए। अन्तत: जोडिए पनि। यो जोडी हो शेरबहादुर देउवा र विजयकुमार गच्छदारको।

नाम कि बदनाम?

उमेरमा ७ वर्षमात्र अन्तर।  २००३ मा जन्मिएका शेरबहादुर देउवा र २०१० सालमा जन्मिएका विजयकुमार गच्छदार। विद्यार्थी राजनीतिबाट माथि आएका यी दुवै नाम र बदनाम कमाउने नेतामा पर्छन्।

नाम यसर्थमा छ कि यी दुवै देशका सबैभन्दा धेरै पटक प्रधानमन्त्री र उपप्रधानमन्त्री बनिसके। जीवित प्रधानमन्त्रीमध्ये शेरबहादुरमात्र एक हुन् जसले ४ पटक सत्ताको रसस्वादन गरिसके। 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको यसैकारण इतिहासमा नाम छ। उनकै कार्यकालमा नयाँ संविधान कार्यान्वयनको एउटा चरण पूरा भएको छ। यसले पनि नाम नै थपेको छ। बदनाम पनि यिनीसँग 'अट्याच' भइ नै रहे सधैं। 

नेपाली कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउनेदेखि दरवारमा लगेर प्रजातन्त्र बुझाउनेजस्ता कर्ममा यिनी फँसिरहे। यिनीमाथिको यी आरोपमा अरु दोषी छैनन् भन्न मिल्दैन तर बदनामी यिनकै शिरमा रहिरह्यो।

विजय गच्छदारसँग पनि देशकै सबैभन्दा धेरै पटक उपप्रधानमन्त्री बन्ने रेकर्ड छ। सत्ता गठबन्धनमा कहिले यता त कहिले उता उनको खुबी बन्यो। सबै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुँदा हत्तपत्त यिनी मन्त्री हुन छुटेनन् – उपप्रधानमन्त्री त ट्याग लाइन नै रह्यो।
नाम र बदनामका बावजुद जनताले यी दुई नेतालाई सधैं संसदको यात्रा गराइरहे। आलोचित हुन् या प्रेरणाका स्रोत, जनता सधैं यिनका साथमा रहिरहे – चुनावी जितमा सधैँ सफलता पाइरहे।   

यस्तो छ देउवाको जितको टाइमलाइन

२०४८ - पहिलोपटक चुनावी प्रतिस्पर्धामा देउवा डडेल्धुरा १ निर्वाचित भए। त्यतिबेला उनले एमालेका गोविन्द प्रसाद कलौनी प्रतिस्पर्धी पाएका थिए।
२०५१- पुरानै क्षेत्रमा उनी दोस्रोपटक निर्वाचित भए। त्यतिबेला उनले एमालेका खेमराज भट्ट ‘मायालु’ प्रतिस्पर्धी पाएका थिए।
२०५६-प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतलाई पराजित गर्दै देउवाले जितको ह्याट्रिक रचेका थिए।
२०६४ - सोही क्षेत्रमा देउवा चौथौ पटक चुनावी प्रतिस्पर्धामा उत्रे। देउवाले माओवादीका खगराज भट्ट प्रतिस्पर्धी पाएका थिए। 
२०७० - यो वर्ष देउवाले डडेलधुरा १ कैलाली ६  बाट उमेदवारी दिए र दुवै क्षेत्रबाट निर्वाचित भए। एक क्षेत्र छाड्नु परेकाले कैलाली छाडे। डडेलधुरामा माओवादीका खगराज भट्ट नै प्रतिस्पर्धी थिए। 
२०७४ - यसपटक पनि देउवाले माओवादीका भट्ट नै प्रतिस्पर्धी पाए। भट्टलाई ह्याट्रिक हार चखाउँदै देउवाले भने डबल ह्याट्रिक इतिहास बनाए।

यस्तो छ गच्छदारको जितको टाइमलाइन

२०४८- गच्छदार सुनसरी ३ मा कांग्रेसबाट पहिलोपटक उम्मेदवार बने। एमालेकी लीला श्रेष्ठ सुब्बा उनका प्रतिस्पर्धी। जित गच्छदारकै पक्षमा आयो।
२०५१- कांग्रेसबाट सोही क्षेत्रमा दोस्रोपटक चुनावी मैदानमा उत्रे विजय र विजयी पनि भए। एमालेका कुलदीप पेशकर उनका प्रतिस्पर्धी थिए। 
२०५६-कांग्रेसबाटै सोही क्षेत्रमा एमालेका रेवतीरमण भण्डारीसँग प्रतिस्पर्धा पर्यो। गच्छदारले यही वर्ष ह्याट्रिक गरे।
२०६४-कांग्रेसबाट बाहिरिएपछि गच्छदारले मधेशी जनाधिकार फोरम गठन गरे। र, यही पार्टीबाट मोरङ - ७ मा  निर्वाचनमा होमिए। साबिकको क्षेत्रमा कांग्रेसका अगमलाल चौधरी  र मोरङ–७ मा कांग्रेसका शेखर कोइरालालाई पराजित गरिदिए।
२०७०-  मधेशी जनाधिकार फोरमबाटै चुनावी मैदानमा थिए। एमालेकी भगवती चौधरी उनका प्रतिस्पर्धी थिए। भगवती पराजित भइन्।
२०७४ - यसपटक गच्छदार कांग्रेस फर्के। र, सोही क्षेत्रबाट एमालेकी भगवती चौधरीलाई पराजित गर्दै निर्वाचित भई लगातार छैठौं पटक जित्ने उमेदवारको इतिहास रचे।

उमेरले पनि पाका भइसकेका यी दुई नेताको आगामी निर्वाचनमा के होला भन्न सकिन्न। तर अहिलेसम्मको जितलाई हेर्ने हो भने – यो जोडी चुनावमा नेपालको सबैभन्दा लोकप्रिय जोडी भन्नेमा विमति नहोला।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell