चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन्।
माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए।
देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताए।
आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे।
माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गरे ।
माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने उल्लेख गर्दै उनले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने बताए।रासस