
भक्तपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन्।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले भने, “नेपालमा आफ्ना हकअधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन्।”
वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरे पनि विगतमा नेपाली काँग्रेसले गरे जस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने भन्दै ओलीले भने, “प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौँ ।”
चुनावका बेला प्रतिस्पर्धी भएकाले काँग्रेससँग केही घोचपेच गरिएको भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ थियो। अब देश निर्माणमा लाग्नुपर्ने भएकाले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए।
ओलीले भने, “कुस्ती खेल्न मैदान गएपछि एकआपसमा मुक्का हानाहान हुन्छ, तर खेल सकिएपछि बाटोमा हिँडेका बेला मुक्का हानिँदैन । त्यसैले अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्छ, किनभने अब पाँच वर्षका लागि चुनावी प्रतिस्पर्धा सकियो।”
आगामी सरकार क्षमताहीन मानिस थोपर्ने ठाउँ नहुने बताउँदै अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतिका रुपमा आत्मसात गरी अघि बढ्न निजामती कर्मचारीलाई आग्रह गरे। उनले भने, “तपाईंहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन् । छिटो, छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभूति दिनुहोस्।” रासस