PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

गण्डक नहरमा भारतीय दादागिरी, ‘पुसमा छाड्नु पर्ने पानी फागुनमा पठाउने’



राधेश्याम पटेल

गण्डक नहरमा भारतीय दादागिरी, ‘पुसमा छाड्नु पर्ने पानी फागुनमा पठाउने’

वीरगञ्ज: मध्य तराईको सिँचाईको अधारका रुपमा रहेको गण्डक नहरमा यस वर्ष पनि गहुँबालीका लागि समयमा पानी आउने सम्भावना न्युन भएको छ। पर्सा, बारा र रौतहट जिल्लासम्म करिव ८१ किलोमिटर दुरीमा फैलिएको गण्डक नहरमा फागुनदेखि पानी आउने बताइएको छ।

एकातिर नेपाल सरकारको लापारबाहीले गर्दा बाढीको समयमा भत्किएका नहर हालसम्म मर्मत हुन सकेका छैनन्। अर्कातिर भारतीय पक्षको दादागिरी हावी छ। जसले किसान मर्कामा परेका छन्।

नेपाल–भारत सरकारबीचको सम्झौता अनुसार गहुँबालीका लागि पुस १० मा पानी छोड्नु पर्ने व्यवस्था छ। तर माघपछि मात्र गण्डक नहरमा पानी आउने नेपालका अधिकारीहरुले बताएका छन्।

गण्डक नहरको व्यवस्थापन गर्ने कार्यालय नारायणी सिँचाई डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले हरेक वर्ष जस्तै यो वर्ष पनि भारतीय पक्षले ढिला गरी पानी पठाउने जानकारी पाएको बताए।

‘मेरो नवलपरासीको सिँचाई कार्यालय प्रमुखसँग कुरा भएको छ। भारतीय पक्षले गण्डक नहरको मुहानस्थल वाल्मिकी नगरमा व्यारेजको मर्मत गर्दै छ’, पहिलोपोस्टसँग कुरा गर्दै साहले भने, ‘माघपछि नै पानी आउने कुरा बुझेको छु।’

यो वर्ष पनि माघसम्म पानी नआउँदा किसानहरुले लगाएको गहुँबाली सुक्ने अवस्थामा पुगेको छ। कतिपय किसानले चिस्यान नभएको कारण अहिले पनि गहुँ छरेका छैनन। उनीहरु गण्डक नहरमा पानी आएपछि बाली लगाउने तयारीमा छन्। गहुँ छरिसकेका किसान पानी नपाए बाली नष्ट हुने चिन्तामा छन्।

अवको दुई साताभित्र पानी नआएमा हजारौँ विघा क्षेत्रफलमा लगाइएको पर्सा, बारा, रौतहटको गहुँबाली नष्ट हुने किसानहरुको भनाइ छ। पर्सामा मात्रै करिव २७ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइन्छ।

 

नेपाल सरकार पनि कमजोर

पछिल्लो बाढीका कारण मा गण्डक नहरमा क्षति पुगेको छ। सरकारले मर्मतका लागि अहिलेसम्म कुनै पनि रकम उपलव्ध गराएको छैन। मर्मतका लागि कुनै पनि रकम नपाएको नारायणी सिँचाई डिभिजन कार्यालय प्रमुख साहले बताए।

पर्सा, बारा, रौतहटका विभिन्न ठाउँमा गरी करिव ७० करोडको क्षति भएको जानकारी कार्यालयले सम्वद्ध विभागमार्फत मन्त्रालयमा पठाएको थियो। तर, मन्त्रालयले हालसम्म मर्मत खर्च नदिएको उनको भनाई छ। कार्यालयको आन्तरिक र अन्य शीर्षकको पैसा कटौती गरी भत्केको नहरको मर्मत कार्य भइरहेको छ।

बाढीले पर्साको जानकीटोलामा दुवै साइड करिव १५० मिटर, मसिहानीमा ७० मिटर दुरीमा नहर भत्केको थियो। त्यस्तै, अन्य ठाउँमा ५ देखि १० मिटरसम्म नहरमा क्षति पुगेको छ। शाखा नहरहरुमा पनि क्षति पुगेको छ। नहर मर्मत नभइ पानी आएमा पनि अन्य क्षेत्रमा समेत क्षति हुने अनुमान गरिएको छ।

डिभिजन प्रमुख साहले भत्केको नहर अवको दुई सातामा मर्मत सम्पन्न हुने दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell