
लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै लगातार १५ खेल जितेको छ।
गएराती स्वान्सी सिटीलाई ४-० ले पराजित गर्दै सिटीले यस सिजन लिगमा अपराजित यात्रालाई १७ खेलसम्म निरन्तरता दिएको छ। यस सिजन सिटिले एक खेल मात्र बराबरी खेलेको छ।
स्वान्सीलाई उसैको मैदानमा हराउन सिटीका लागि डेभिड शिल्भाले २ तथा केभिन डे ब्रुएना र सर्जियो एगुएरोले १-१ गोल गरे।
जितपछि सिटीले १७ खेलबाट ४९ अंक जोडेको छ भने दोस्रो स्थानको म्यानचेष्ट् युनाइटेडमाथि ११ अंकको अग्रता कायमै राखेको छ। यता रोमेलो लुकाकुको एक मात्र निर्णायक गोल मद्दतमा युनाइटेडले एएफसी बर्नमाउथलाई १-० ले हराउदै ३ अंक जोडेको हो। युनाइटेडको १७ खेलबाट ३८ अंक भएको छ।
यसैगरी टोटनहम ब्राइटनलाई पराजित गर्दै चौथो स्थानमा उक्लदा लिभरपुल वेष्टब्रोमसँग तथा आर्सनल वेष्टह्याम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएका छन्।
बराबरीपछि लिभरपुल पाँचौ स्थानमा छ भने आर्सनल सातौँ स्थानमा झरेको छ।
१७ खेलबाट टोटनहम, लिभरपुल र बर्नलीको समान ३१ अंक छ। तर गोल अन्तरका आधारमा टोटनहम अगाडी रहेको हो।