नेपालगन्ज: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके जिल्लामा ६ दशमलव ३१ प्रतिशत मत बदर भएको छ। तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ७१ प्रतिशत मत खसेको थियो।
निर्वाचन क्षेत्र नम्बर १ मा ९८ हजार ३२० मतदाता रहेकामा ६९ हजार ८३५ मत खसेको थियो। जसमा तीन हजार ५९२ मत बदर भएको छ। क्षेत्र नम्बर २ मा ८२ हजार ९४७ मतदाता रहेकोमा ५९ हजार १०१ मत खसेको थियो। क्षेत्र नम्बर २ मा चार हजार ८२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।
क्षेत्र नम्बर ३ मा ९५ हजार ४४९ मतदाता रहेकामा ६७ हजार ५४४ मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा तीन हजार ९८१ मत बदर भएको छ।
समानुपातिकतर्फ पनि बदर मत उल्लेख्य भएको सुवेदीले जानकारी दिए। गठबन्धन भएकाले समानुपातिकमा आ–आफ्नै चिह्नमा मत मागिएको थियो। मतदाता शिक्षा प्रभावकारी नभएकाले धेरैजसो मतदाताले तलमाथि नै दुई/दुई ठाउँमा स्वस्तिक छाप लगाएको पाइएको छ। प्रदेशसभातर्फ पनि बदर मतको संख्या उल्लेख्य छ।
प्रदेशसभा क्षेत्र नम्बर २ ‘ख’मा २८ हजार २६२ मत खसेकामा एक हजार ५२८ मत बदर भएको छ। प्रदेशसभा २ ‘क’मा दुई हजार ७२७ मत बदर भएको छ । यस प्रदेशसभामा ३० हजार ८६६ मत खसेको थियो।