PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दी लास्ट हनी हन्टरको स्क्रिनिङसँगै किम्फको १५ औं संस्करण सुरु



पहिलोपोस्ट

दी लास्ट हनी हन्टरको स्क्रिनिङसँगै किम्फको १५ औं संस्करण सुरु

काठमाडौं : दी लास्ट हनी हन्टरको स्क्रिनिङसँगै काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १५ ‍औं संस्करण आजबाट सुरु भएको छ। 

भोजपुरको उच्च भेगमा निकालिने जंगली महलाई थिम बनाइएको डकुमेन्ट्रीले मह संकलनसँग जोडिएका संस्कृति पाटाको व्याख्या गरेको छ। यसअघि यसै विषयमा फ्रान्सेली निर्देशक एरिक भ्यालीले पश्चिम नेपालमा गुरुङहरुले मह काड्दाको कथा बुनिसकेका थिए। यसपाला निर्देशक वेन नाइटले पूर्वी नेपालको कथा बुनेका छन्। पश्चिमका गुरुङको साटो दी लास्ट हनी हन्टरमा पूर्वी राई जोडिएका छन्। होङ्गु रिभर भ्यालीका मौली धन राईको जीवनमा जंगली महको सिकारलाई निर्देशकले पर्दामा उतारेका छन्। अग्लो चट्टानी पहाडबाट राईसँगै अट्याच क्यामरा र ड्रोनमार्फत् खिचिएका दृश्य लोभलाग्दा छन्। भीर मौरीको मह काड्दाको जोखिम र त्यसको सांस्कृतिक महत्वलाई डकुमेन्ट्रीमा उतारिएको छ। 

पाँच दिन लामो किम्फमा योपटक ३७ देशका डकुमेन्ट्री, सोसियल ड्रामा, एनिमेटेड, सर्ट फिल्म लगायत अन्य फरक विधाका फिल्महरु देखाइने छ। 

किम्फ २०१७ मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ १५ फिल्म रहेको आयोजकले जानकारी दिए। त्यस्तै प्रतिस्पर्धा बाहेक अन्य ४८ फिल्म प्रदर्शन हुनेछन् भने नेपाल पानोरोमा अन्तर्गत यो वर्षका लागि १५ फिल्म रहने बताइयो। अन्तराष्ट्रिय प्रतियोगितातर्फत प्रथम हुनेले १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई एक हजार डलर र तेस्रो हुनेलाई पाँच सय डलर दिने आयोजकले बताएको छ। 

नेपाल पानोरोमामा भने आख्यान र गैर आख्यान दुई विधाका विजेतालाई ७५ हजार र ५० हजार नगद पुरस्कार राखिएको छ।

काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलमा योपटक 'डक पिच सेसन' पनि हुनेछ। जुन प्रतिस्पर्धात्मक सेसन हो। यसमा डकुमेन्ट्री निर्माताले आफूले बनाउँदै गरेको डकुमेन्ट्री बारे जानकारी मुलक प्रस्तुति दिनेछन्। सेसनको विजेताले २ हजार डलर प्राप्त गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell