
काठमाडौं : समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिमा समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रित गौतमको नटआउट १०६ रनको मद्दतमा निर्धारित ३५ ओभरमा ३५० रन बनाएको थियो।
जवाफमा नेपाली बलरले घातक बलिङ गरेपछि म्यानमार ११.३ ओभरमा मात्र १३ रन बनाएर अलआउट भयो। म्यानमारका ७ खेलाडी खाता नखोली आउट भए भने एक खेलाडीले ३ तथा बाँकी ३ खेलाडी समान १ रन बनाएर आउट भए।
म्यानमारलाई १३ रनमै अलआउट गर्न नेपालका नारायण जोशी र मेख बहादुर सेन थापाले ४-४ विकेट लिए। यस्तै विशाल विक्रम केसींले १ विकेट झारे।
त्यसअघि टेर्डथाई क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान तको शतक तथा दुई खेलाडीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर ३५० रनको विशास स्कोर बनाएको थियो। ७८ बल खेलेका गौतमले १२ चौका समेत प्रहार गरे।
यसैगरी तृत राज दासले विष्फोटक ब्याटिङ गर्दै २९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन जोडे। विशाल विक्रम जिसीले ४२ तथा कुशल मल्ले ३६ रन जोडे।
प्रतिस जिसी ६३ रनमा नटआउट रहे। ३१ बल खेलेका प्रतिसले १० चौका र १ छक्का प्रहार गरे। म्यानमारका हेइन तेत अङले ३ विकेट लिए।
नेपालले पहिलो खेलमा थाइल्याण्ड तथा दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।
समूह ए को विजेता बनेको नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता मलेसियासँग खेल्नेछ। यस्तै थाइल्याण्डलाई हराउँदै समूह ए को उपविजेता बनेको हङकङले अर्को सेमिफाइनलमा समूह बी को विजेता सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।