
- ललित बसेल -
प्रदेश सभा सञ्चालन र प्रशासनिक संरचनाको मस्यौदा समितिले सुर्खेतमा रहेका क्षेत्रीय स्तरका कार्यालयहरुलाई नै प्रदेशसभा स्थल तथा मन्त्रालयको लागि सिफारिस गरेको हो। मस्यौदा समितिले यस प्रदेशका लागि प्रस्ताव गरिएका ७ वटा मन्त्रालयको भवन टुंगो लगाएको छ। समितिका एक सदस्य शहरी विकास तथा भवन डिभिजनका इन्जिनियर झंकबहादुर थापाले जिल्लामा रहेका भवनहरुको संरचना अवस्था अध्ययन गरेर ७ वटा मन्त्रालय बस्ने भवनहरुको सिफारिस गरिएको बताए।
उनका अनुसार शैक्षिक तालिम केन्द्रलाई प्रदेश सभाको भवन, सभामुख कार्यालय, सभा हल र प्रदेश सभा सचिवालय प्रस्ताव गर्न सिफारिस गरिएको छ। यसैगरी प्रदेश गृह मन्त्रालयका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, प्रदेश पूर्वाधार विकास मन्त्रालयका लागि क्षेत्रीय सडक र सिंचाई डिभिजन कार्यालय भवन, प्रदेश प्रमुखको कार्यालयका लागि क्षेत्रीय वन र वन तालिम केन्द्रको भवन, प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालय र सचिवालयका लागि क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालयको भवनलाई प्रस्ताव गरिएको छ। यस्तै मुख्यमन्त्रीको आवासका लागि क्षेत्रीय प्रशासकको निवासलाई प्रस्ताव सिफारिस गरिएको छ भने जल उत्पन्न डिभिजन र सहरी विकास डिभिजनमा पनि मन्त्रालय रहन सक्ने भवन सिफारिस गरिएको छ।
मन्त्रालय तथा अन्य महत्व कार्यालयका लागि आवश्यक पर्ने भवनहरु सुर्खेतमा पर्याप्तमात्रामा रहेको तर तिनलाई मर्मत सम्भार गर्न जरुरी रहेको समितिले जनाएको छ। समितिले ती संरचना मर्मत तथा सम्भारका लागि २८ करोड लाग्ने अनुमान समेत गरेर पठाएको छ। क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशव उपाध्यायको संयोजकत्वमा भौतिक संरचनाहरुको मस्यौदा समिति गठन भएको थियो।