.jpg)
वीरगंज : भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पर्साबाट खटिएका म्यादी प्रहरीले वीरगंजको घण्टाघरमा चक्का जाम गरेका छन्। दिउँसो साढे ३ बजेदेखि चक्का जाम गरेका हुन्। चुनावमा खटाएवापत जिल्ला प्रहरी कार्यालय पर्साले कम पारिश्रमिक दिएको भन्दै म्यादी प्रहरीहरुले विरोधस्वरुप चक्का जाम गरेको म्यादी प्रहरी कृपाशंकर मण्डलले बताए।
पहिलो चरण अन्तर्गत पहाडी र हिमाली जिल्लामा खटेका म्यादी प्रहरीहरुले ६२ हजार रुपैयाँ पाएको तर तराईका जिल्लामा म्यादी प्रहरीहरुलाई ४८ हजार दिने कुरा गरेपछि म्यादी प्रहरीहरुले आज जिल्ला प्रहरी कार्यालय पर्सामा गएर विरोध गरेका थिए। दिउँसो २ बजे प्रहरीले लाठीचार्ज गरी आधा दर्जन म्यादी प्रहरीलाई घाइते बनाएपछि आक्रोशित बन्दै उनीहरुले साढे ३ बजे देखि घण्टाघर जाम गरेका हुन्।
उनीहरुले पहिलो चरणमा वितरण भएको रकम अनुसार आफुहरुले पनि पारिश्रमिक पाउने माग राखेका छन्। पर्सा प्रहरीले म्यादीलाई कार्तिक ३ गते देखि नै खटाएको तर नियुक्ति पत्रमा कार्तिक १२ गते देखि काम गरेको गणना गरी ५५ दिनको पैसा ६२ हजार दिनुपर्नेमा १४ हजार रुपियाँ कम दिन लागेकोले विराध गरेको अर्का म्यादी प्रहरी रबिभूषण सिंहले जानकारी गराए।
पर्साका प्रहरी उपरीक्षक डा. गाणेश रेग्मीले पहाड, हिमाल र तराईका जिल्लामा वितरण हुने रासनको पैसा छुट्टाछुट्टै पाउने भएकाले पर्सामा वितरण हुने रकम कम देखिएको प्रतिक्रिया दिए। ‘एउटा अनलाइनले ६२ हजार पाउने भनी लेखदिएको छ, त्यसैलाई अधार बनाएर उनीहरु पैसा माग्दै विवाद गर्दैछन्,’ उनले भने, ‘अब सम्झाइबुझाइ जाम खुलाउँछु।’ उनले ५५ दिनको तलब भत्तामा २० दिनको २४ हजार दिइसकिएको र ३५ दिनको दिन बाकी रहेको जानकारी गराए।