काठमाडौं: 'मार्समेलो लाइभ इन नेपाल' नाम दिइएको कार्यक्रममा मुख्य कलाकार मार्समेलो नै अनुपस्थित रहेपछि क्लब डेजाभूमा दर्शकले भाडभैलो मच्चाएका थिए। बुधबार राती हुने भनिएको कार्यक्रममा बिहान ३ बजेसम्म मार्समेलो नआउँदा पनि आयोजकले उनी नेपाल नआएको जानकारी नदिएको दर्शकहरुको दाबी छ।
राती दर्शकले तोडफोड गरे। घटना बारे विभिन्न आलोचना भए। सामाजिक सञ्जालमा भाडभैलोको भिडियोहरुमाथि पनि टिप्पणी हुँदै छन्। यस्तोमा डिजे मार्समेलो भने आफ्नो आधिकारिक फेसबुक, ट्विटर र इन्सटाग्राममार्फत आफू अस्वस्थ भएको कारण नेपाल आउन नसकेको जनाए।
उनले लेखेका छन्,'म चाहेर पनि आउन सकिंन। कोसिस गर्दा पनि मलाई डाक्टरले रोकेको हो। 'हेल्थ फस्ट'।'
उनको स्टाटसमा भने नेपाली दर्शकहरुको मिश्रित प्रतिक्रिया दिरहेका छन्। केहीले संयमित भएर पूर्व जानकारी दिनु पर्थ्यो भनेका छन्, कसैले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने धेरैले उनको अनुपस्थितिका कारण भएको क्षतिका कारण आक्रोश पोखेका छन्।
आयोजक ६१ लाइभले मार्समेलोको कन्सर्टको टिकट दर २५ सय, ३५ सय र पाँच हजार राखेको थियो। घटनामाथि प्रहरीले अनुसन्धान गर्दैछ।