विराटनगर : कन्यादान गरिएन किनकि दान गर्ने वस्तु कन्या किमार्थ होइनन्। बेहुला–बेहुलीको गोडा धुने कर्म गरिएन किनकि कसैका खुट्टा धोएर पानी खानु दासताको प्रतीक हो।
पूर्णतः स्टेज म्यारिज पनि होइन कारण वरण गरिएका ब्राह्मणले मन्त्र पढेर स्वयंवर, सिन्दुर हाल्ने, पोते र तिलहरी लाइदिने अनि जूवा खेल्नेजस्ता कर्म गरिए।
पूर्णतः कर्मकाण्डीय विवाह पनि थिएन कारण कन्यादान र गोडाधुने लगायतका केही विधिको अवज्ञा गरिएको थियो अनि बेहुला–बेहुलीलाई स्टेजमै राखिएको थियो।
निम्तालुलाई नगद वा जिन्सी उपहार नल्याउन अनुरोध गरिएको थियो तर गच्छेअनुसारको ससानो भोज मौजुद थियो। सानो सङ्ख्यामा ५१ जनाको जन्ती आएपछि बिहिबार सम्पत्र भयो विराटनगरका रवि कटुवाल र मोरङकै ग्रामथान गाउँपालिकाकी ममता गुरागाईंको विवाह।
अन्माउने बेलामा वरवधूलाई बोकेर परम्परागत शैली नै अपनाइयो मानौँ संस्कारलाई जीवन्त राख्न खोजिएको होस्।
झोराहाट नाट्यघरमा आयोजित विवाहको अर्को आनन्द काव्यिक वातावरण थियो। पुरोहितले मन्त्र पढेर विवाह गराइरहे, यता नाट्यघरका अध्यक्ष भरत गुरागाईंले उद्घोषण गर्दै विभित्र कविलाई कविता वाचनका लागि बोलाइरहे।
विवाहमा वरिष्ठ साहित्यकारहरू प्रा.डा. टङ्क न्यौपाने, कुन्ता शर्मा, मिश्र वैजयन्ती, प्राज्ञद्वय विवश पोखरेल र खेम नेपाली लगायतको उपस्थिति थियो।
‘बढ्दो तडकभडक र आडम्बरका कारण निम्न आर्थिक अवस्थाका युवायुवतीलाई आफ्नो विवाह गर्न पनि कठिन भइसकेको छ’, अध्यक्ष गुरागाईंले भने, ‘यस बिहाका वरवधू पनि औसत नेपालीको हैसियतका हुन्।’
वरिष्ठ कवि कुन्ता शर्माले वैवाहिक पद्धतिमा परिमार्जनको खाँचो रहेको धारणा प्रकट गरिन्।