
वीरगञ्ज: चितवनका सन्दीप लामा मोटरसाइकलको लाइसेन्स आवेदनका लागि टोकन लिन बुधबार नारायाणी यातायात कार्यालय वीरगञ्ज प्रस्थान गरे। लामा वीरगञ्ज पुग्दा दिउँसो २ बज्यो। कार्यालय समय त बाँकी थियो तर, लाइसेन्सको आवेदन दर्ताका लागि तोकिएको टोकनको कोटा सकिएको थियो।
कार्यालयले टोकन सकिएको बताए पनि सन्दीपले टोकन अन्यत्रै वितरण भइरहेको थाहा पाए।
सन्दीप यातायात कार्यालयको ३ किलोमिटर पश्चिममा बनेको ट्रायल सेन्टर पुगे। जहाँ टोकन वितरण भइरहेको थियो।
कार्यालय समय सकिन आधा घन्टा बाँकी थियो। टोकन वितरणको अन्तिम दिन भएकाले उनी टोकन पाइने आशामा लाइन बसे। तर, पौने ३ मा नै काउन्टर बन्द भयो।
कार्यालय समय अगावै टोकन नदिएको भन्दै सेवाग्राहीले विरोध गरे। तर, सेवाग्राहीको विरोधको कुनै अर्थ पनि थिएन। किनकि कारण अर्कै थियो।
दललाका हातमा टोकन
यातायात कार्यालय र ट्रायल सेन्टरबाट पाउन नसकेको टोकन सन्दीपले दललामार्फत सहजै पाए। बुधबार नै ३ बजे यातायात कार्यालय नजिकै एक हजार तिरे र टोकन लिएर फर्किए।
सन्दीपजस्तै धेरै सेवाग्राहीको मर्का एकै छ। यातायात कार्यालयले वर्षमा दुई पटक खोल्ने लाइसेन्स परीक्षा व्यवस्थापन गर्न सकेको छैन।
‘वर्षमा दुई/तीन पटक मात्र लाइसेन्सको आवेदन खुल्छ। त्यसमा पनि एक हजारको मुख हेरियो भने पछि परिन्छ’ निशुल्क टोकन पैसामा खरिद गरी घर फर्किने मनस्थितिमा रहेका सन्दीपले भने ‘लाइसेन्स नहुँदा दैनिक ट्राफिकबाट चेकजाँचमा पक्रिनु, ५ सय र हजार रुपैयाँसम्म जरिवाना तिर्नुभन्दा यो उपाय नै सहज लाग्यो।’
उनले यातायात कार्यालय नजिक लेखपढ गर्ने एक दलालमार्फत एक हजार रुपैयाँ तिरेर निःशुल्क टोकन खरिद गरेका हुन्। सन्दीपको टोकन ३९ हजार लटको परेको छ। अब उनी लाइसेन्सको प्रक्रियामा सहभागी हुनेछन्।
टोकनको कनेक्सन
देशभर सवारी लाइसेन्स लिन नयाँ नियम लागू भएको छ। लाइसेन्सको काम अनलाइनबाटै हुन थालेको छ। अनलाइनमा सहभागी बन्न पहिलो प्रक्रिया टोकन दिइन्छ। तर, त्यही टोकन दललासँगको सेटिङमा बिक्री गरिएको पाइन्छ।
टोकन वितरण गर्दा सेवाग्राहीको परिचय खुल्ने कागजात अनुसार अभिलेख तयार गरी टोकन बाँड्नु पर्छ। तर वीरगञ्जमा जथाभावी टोकन वितरण भइरहेको पाइएको छ। कुनै अभिलेख समेत राखिएको छैन।
वीरगञ्जमा एक जनाले १० वटासम्म नागरिकता संकलन गरी टोकन जम्मा पार्छन। त्यही टोकन पछि यातायात कार्यालयले वितरण गर्ने समयावधि सकिएपछि दलालमार्फत सेवाग्राहीलाई बिक्री गरिन्छ।
‘कर्मचारीको मिलोमतो नभए किन टोकन बाँडिएका विवरण राखिन्न? यसबाट स्वतः देखिन्छ कर्मचारीले बदमासी गरिरहेका छन्’ पर्सा बिश्रामपुरका राजेश कुमार प्रश्न गर्छन ‘कर्मचारीहरुले दलाल लगाएर हजारौँ टोकन हत्याउछन् पछि टोकन बेचेर सेवाग्राहीबाट पाँच सयदेखि हजार रुपैयाँसम्म ठग्छन।’
टोकनबाटै कम्तीमा एक लटमा २० लाख रुपैयाँको अनियमितता हुने गरेको सेवाग्राहीको आरोप छ। यसमा यातायातका कर्मचारी, विचौलिया सबै सहभागी हुन्छन्।
बदनामीको रेकर्ड
नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको हेटौंडाका प्रमोद श्रेष्ठ बताउँछन्। सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।
नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्।
'दोषीलाई कारबाही हुन्छ’
यस विषयमा यातायात व्यवस्था कार्यालय नारायणी लाइसेन्स शाखाका शाखा अधिकृत उमेश रेग्मीसँग कुरा गर्दा दलालमार्फत टोकन बिक्री भएको विषयमा आफूलाई जानकारी नभएको बताए।
‘हामी कहाँ त्यस्तो जानकारी आएको छैन। न कसैलाई अनाधिकृत रुपमा टोकन दिएका छौँ, रेग्मीले भने ‘यदि त्यस्तो भएको छ भने छानविन गरी दोषीमाथि कारबाही गर्छौं।’
टोकनको अभिलेख किन गरिएन भन्ने प्रश्नमा रेग्मी भन्छन ‘दुई दिनको समयमा भीड भएकोले नागरिकता देखाउनेलाई टोकन दिएका हौँ।’