PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सगरमाथाको उचाइ मापनको सबै तयारी पूरा, दुई वर्ष लाग्ने



पहिलोपोस्ट

सगरमाथाको उचाइ मापनको सबै तयारी पूरा, दुई वर्ष लाग्ने

काठमाडौँ :  सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने भएको छ। सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन सुरु गर्ने अन्तिम तयारी भएको छ । 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड बजेट विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए। 

भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ। मापन कार्य सुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ। 

मंसिर २५ र २६ गते काठमाडौँमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए। 

विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो। 

यसअघि १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो। त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए। 

तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन। सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल सुरु गर्ने नापी विभागले जनाएको छ । 
आगामी दुई वर्षभित्र उचाइ मापन कार्य सक्ने विभागले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell