PahiloPost

May 14, 2024 | १ जेठ २०८१

जेलबाटै पार्टी सञ्चालनमा ल्याउँदै संजय साह ‘टक्ला’



बीपी साह

जेलबाटै पार्टी सञ्चालनमा ल्याउँदै संजय साह ‘टक्ला’

काठमाडौं : जनकपुर वम काण्डको आरोपमा जेल परेका पूर्व सांसद संजय साह ‘टक्ला’ले आफ्नै नेतृत्वमा राजनीतिक दल खडा गर्ने तयारी थालेका छन्। ‘मधेश क्रान्ति फोरम’ नामक सामाजिक तथा सांस्कृतिक संगठन बनाएका साहले उक्त संगठनलाई राजनीतिक दलमा रुपान्तरित गर्ने भएका हुन्। 

पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा चारमा चुनाव जितेका साह दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट जिते। तर, पार्टी भने फेरियो। फोरमबाट उनी सद्भावना पार्टीतिर लागे। सद्भावनाका वरिष्ठ उपाध्यक्षसमेत रहेका साह स्थानीय निकायको निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीमा सक्रिय थिए। साहको सहयोगमा जनकपुर उप महानगरपालिकामा राजपाले अत्यधिक मत ल्यायो र जित पनि दर्ता गरायो। 

प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साहलाई 'पेलेर गएपछि' उनी महतोको विरुद्धमा उभिए। महतोले आफूविरुद्ध षड्यन्त्र गरेर क्षेत्र कब्जा गर्न खोजेको र आफ्नो राजनीति नै समाप्त पार्न खोजेको भन्दै निर्वाचनमा साह समूहले महतोको विरोध गर्‍यो। 

निर्वाचन सकिएलगतै साहले मधेश क्रान्ति फोरमलाई राजनीतिक दलको रुपमा अगाडि बढाउने निर्णय लिँदै दुई नम्बर प्रदेशका जिल्लाहरुमा संगठन बिस्तार गर्न थालेका छन्।

बिहीवार जनकपुरधाममा मधेश क्रान्ति फोरमको विस्तारित बैठक राखेर सबै जिल्लामा संगठन बिस्तार गर्ने निर्णय भएको क्रान्ति फोरमका धनुषा संयोजक नविन यादवले पहिलोपोस्टलाई बताए।

यादवले संगठन बिस्तारका क्रममा पहिलो चरणमा दुई नम्बर प्रदेशमा मधेश जागरण अभियान चलाइने जनाए। 

‘दुई नम्बर प्रदेशमा मधेशवादी शक्तिको नाममा राजपा र फोरम नेपालले भोट पाएको छ। तर, उनीहरु मधेशवादी होइनन्। उनीहरुले मधेशवादलाई बिर्सेका छन्। त्यसैले अब संजय साहको नेतृत्वमा मधेश क्रान्ति फोरमले मधेशवादको बिस्तार गर्नेछ,’ यादवले भने, ‘उहाँ जेलमा भए पनि हामी बाहिर रहेकाले संगठन चलाउँदैछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell