लमजुङः लमजुङबाट ६ राजनीतिक दलले एक मत पनि पाएनन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका ६ राजनीतिक दलले मत नपाएका हुन्।
मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले मत नपाएका हुन्।
यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शून्य मत प्राप्त गरेका हुन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ दुबैमा मत पाएको छैन। प्रदेशसभा ‘क’ तर्फ भने शून्य मत पाउने दल नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दल रहेकामा एक मत पाउने सात दल, दुई मत पाउने ६ दल र सोबाहेक १० भन्दा कम पाउने नौ दल रहेका छन्।
यस्तै प्रदेशसभा ‘क’ तर्फ १० भन्दा कम मत पाउने ६ दल रहेका छन् भने प्रदेशसभा ‘ख’ तर्फ शून्यबाहेक १० भन्दा कम मत पाउने चार दल रहेका छन्। निर्वाचनमा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ २० दल रहेका थिए।रासस