PahiloPost

May 14, 2024 | १ जेठ २०८१

तुल्सी साहको 'हत्या'ले फेरि विमलेन्द्र निधि र राजेन्द्र महतो आमने सामने



बीपी साह

तुल्सी साहको 'हत्या'ले फेरि विमलेन्द्र निधि र राजेन्द्र महतो आमने सामने

काठमाडौं : चुनाव सकिएपछि पनि धनुषामा नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोको 'भिडन्त' रोकिएको छैन। चुनावी प्रतिस्पर्धामा एकअर्काविरुद्ध कडारुपमा उत्रिएका यी दुई नेतालाई फेरि आमने सामने ल्याएको छ एउटा हत्याकाण्डले। 

गत आइतबार राति जनकपुरधामको भानु चोकमा भएको 'घटना'मा घाइते जनकपुर उप महानगरपालिका एकका २५ वर्षीय तुल्सी साहको उपचारको क्रममा मृत्यु भएको थियो। सोही घटनामा दुई नम्बर वडाका २६ वर्षीय विजय महथा घाइते भएका थिए।

घाइते महथाले आफूहरुमाथि राजपाका कार्यकर्तासहित तीन जनाले योजनाबद्ध रुपमा आक्रमण गरेको आरोप लगाएका थिए। कांग्रेसका कार्यकर्ता भएकाले महथाको आरोपले कांग्रेस नेता निधिलाई आक्रामक बनायो। अर्कोतिर राजपाका नेता कार्यकर्ताले भने 'घटना'लाई मोटरसाइकल दुर्घटनामात्र बताउँदै आएका छन्। 

राजपा पक्षधरले रक्सी खाएर मोटरसाइकल चलाउँदा दुर्घटना भइ साहको मृत्यु भएको आरोप लगाएको छ। यता कांग्रेस पक्षधरहरुले भने कुटपिट गरी हत्या भएको आरोप लगाउँदैछन्।

उक्त घटनामा घाइते भएका महथाले आफूहरुमाथि राजपाका कार्यकर्ता प्रशान्त झा, अभिजित सिंह तथा एक स्थानीय पत्रकारले आक्रमण गरेको आरोप लगएका छन्।

महथाका बुबाले धनुषा प्रहरीमा दिएको उजुरीमा आफ्नो छोरामाथि आक्रमण भएको भन्दै तीन जनाको नाममा किटानी जाहेरी दिएका छन्। उक्त जाहेरीमा झा, सिंह र एक जना पत्रकारको समेत नाम छ।

जाहेरीमा परेका तीनै जनालाई नियन्त्रणमा लिइ सोधपुछ गरेर छोडेको धनुषा प्रहरीले जनाएको छ।

उनीहरुलाई प्रहरीले छोडे पछि कांग्रेस नेता विमलेन्द्र निधिले घटनाको छानविनको माग गरेका छन्। बिहीवार नेता निधिले जिल्ला प्रशासन धनुषामा गएर एसएसपी सुभाषचन्द्र चौधरी, प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई र एसपी चक्रबहादुर सिंहलाई भेटेर घटनाको छानविनको माग गरेका हुन्।

स्थानीय पत्रकारहरुसमेत उपस्थित रहेको उक्त भेटघाटमा निधिले भनेका थिए, ‘कांग्रेसले चुनाव हार्दैमा कांग्रेस कार्यकर्ताको हत्या हुनु, कांग्रेस कार्यकर्तामाथि आक्रमण हुनु गलत हो। यस घटनामा राजपाका कार्यकर्ताको संलग्नता छ।’

‘यस घटनालाई किन ढाकछोप गर्नु खोज्नु भएको? अनुसन्धानका क्रममा पक्राउ परेकालाई किन छोड्न् भयो? यो घटनाको वस्तविकता बाहिर आएन भने मैले पनि राजनीति गर्नुपर्ने हुन्छ,’ निधिले भने। उनले राजपा कार्यकर्ताहरुलाई जोगाउन खोजिएको भन्दै प्रहरीप्रति आक्रोससमेत व्यक्त गरे।

अर्कोतर्फ बिहीवार नै राजपाका नेता एवं धनुषा क्षेत्र नम्बर तीनका सांसद राजेन्द्र महतोले मृतकका परिवारलाई भेटेका छन्। महतोले मृतक र घाइतेका परिवारलाई भेटेर घटनालाई ढाकछोप गर्न दबाब दिइरहेको आरोप कांग्रेस पक्षधरले लगाएका छन्।

यता धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। धनुषाका डिएसपी पवन धितालले पहिलोपोस्टसँग भने, ‘घटनाको अनुसन्धान जारी छ। आरोपितहरुमाथि थप अनुसन्धानका लागि प्राविधिक टोली पनि बोलाइएको छ।’

प्रहरी स्रोतका अनुसार घटनामा मुछिएकाको पोलिग्राफ टेस्ट गरिँदैछ। साथै उनीहरुको कल डिटेलसहितका कुराहरुलाई अनुसन्धानको दायरमा ल्याइएको छ।

घटनामा आरोप लगाइएका प्रशान्त झा प्रतिनिधि सभाको निर्वाचन अगाडि राजपामा प्रवेश गरेका थिए। उनी प्रवेश गर्ने दिन पनि राजपाको कार्यक्रममा दुई समूहबीच झडप भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell