पोखरा : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै प्रदेश नम्बर ४ को मुख्य मन्त्रीका लागि जोडघटाउ सुरु भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याएको वाम गठबन्धनभित्र मुख्यमन्त्री दावेदारका आकांक्षीहरु देखिन थालेका छन्।
एमालेका तर्फबाट पूर्वमन्त्री पृथ्वी सुब्वा गुरुङ र तनहुँका किरण गुरुङले चुनाव अघिदेखि नै मुख्यमन्त्रीको दावी गदै आएका छन्।
त्यसैगरी गठबन्धनकै अर्को सहयात्री दल माओवादीका तर्फबाट माओवादी कास्कीका सह–इन्चार्ज दीपक कोइरालाले पनि मुख्यमन्त्रीमा दावी गरेका छन्। उनी माओवादीका पूर्व भाइस-कमाण्डरसमेत हुन्।
एमालेका तर्फबाट मुख्यमन्त्रीको दावी गर्ने गुरुङद्वय मुख्यमन्त्री हुनका लागि नै प्रतिनिधिसभा छाडेर प्रदेशसभाको उम्मेदवार बनेको भन्दै आएका छन्।
त्यसैगरी, माओवादी केन्द्रका दीपक कोइरालाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन पुगेर भेटेलगत्तै पोखरा फर्किएर मुख्यमन्त्रीको दावी गरेका छन्। उनले बुधवार चितवन पुगेर पार्टी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए।
एमालेका दुवै दावेदारले प्रदेश सभामा लमजुङ र तनहुँबाट चुनाव जितेका छन्। एमाले सचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट र किरण गुरुङ तनहुँ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
प्रदेश ४ मा वाम गठबन्धनको प्रादेशिक सरकार (मुख्यमन्त्री) बन्ने निश्चित भएको छ। एमालेका दावेदार दुईमध्ये एक जना मुख्यमन्त्री बन्ने पक्काजस्तै छ।
एमाले सचिव गुरुङले प्रदेशमा पार्टीको सिनियर पदाधिकारी आफू भएकाले मुख्यमन्त्री बन्ने विषयमा कसैको असहमति हुनै नसक्ने दावी गरेका छन्।
त्यस्तै किरण गुरुङले पनि प्रदेश ४ को जिम्मेवारी लिएर काम गरिरहेका आधारमा आफू मुख्यमन्त्री बन्न पाउने दावी गरेका छन्। गुरुङले मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभामा उम्मेदवार नबनेको जिकिर गरेका छन्।
यता माओवादी केन्द्रका नेता कोइराला माओवादी कास्कीका सह इन्चार्जसमेत हुन्। उनी ४ नम्बर प्रदेश माओवादी केन्द्रले पाएको अवस्थामा आफू निर्विकल्प मुख्यमन्त्री हुने दावी गर्छन्। प्रदेश नम्बर ४ माओवादी केन्द्रले लिने सम्भावना बलियो रहेको उनको दावी छ।
गुरुङहरुको बाहुल्यता रहेको क्षेत्र भएकोले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा गुरुङ उम्मेदवारलाई अगाडि बढाउने योजना अनुसार माओवादी केन्द्रले गोरखाबाट अमर तमु र कास्कीमा राजकाजी गुरुङलाई उठाएको थियो।
तर, माओवादीका तमुवानमा दुवै गुरुङ उम्मेदवार पराजित भए। त्यसपछि कोइराला प्रचण्डको आशिर्वाद लिन पुगेका हुन। कोइरालाले प्रदेशका अन्य महत्वपूर्ण पदमा वार्गेनिङ गर्न दावेदारी प्रस्तुत गरेको हुनसक्ने धेरैले अनुमान गरेका छन्।
प्रदेश नम्बर ४ मा प्रदेशसभाका ३६ सिटमध्ये एमालेले १७ ,माओवादी केन्द्रले ९, कांग्रसले ६, राष्ट्रिय जनमोर्चाले २, नयाँशक्ति १ र स्वतन्त्र १ (दीपक मनाङे) विजयी भएका छन्। प्रदेश ४ को प्रदेशसभामा ३६ जना प्रत्यक्षतर्फ र समानुपातिकतर्फ २४ गरी ६० सदस्य रहनेछन्।
वाम गठबन्धनको दुई तिहाई मत
निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि अब प्रदेश सरकार गठनको प्रक्रिया आरम्भ भएको छ र दलहरुबीच जोडघटाउ चलिरहेको छ। प्रदेश नम्बर ४ को अहिलेसम्मको परिणाम हेर्दा वाम गठबन्धनको दुई तिहाईको सरकार बन्ने पक्का भएको छ। प्रदेशसभा अन्तर्गतको ३६ सिट मध्ये गठबन्धनको २८ र १ स्वतन्त्र गरी २९ सिट रहेको छ भने समानुपातिकतर्फका २४ सिट मध्येमा वाम गठबन्धनले ५१ प्रतिशत मत पाएकाले दुई तिहाइ बहुमतको सरकार बन्ने पक्का भइसकेको छ। दुई तिहाइ बहुमतको प्रदेश सरकारका लागि ४० सिट चाहिन्छ।
प्रदेश नम्बर ४ मा नवलपरासी पूर्वको कान्छो जिल्ला नवलपुरसहित ११ जिल्ला छन्। १५ लाख ६८ हजार ९ सय १७ कुल मतदाता रहेको यस प्रदेशमा सरदर ७० प्रतिशत अर्थात् १० लाख ९८ हजार २ सय मत खसेको थियो।
प्रदेशको मतपरिणाम हेर्दा एमालेको ३ लाख ५५ हजार ३ सय ५७, कांग्रेसको ३ लाख ४८ हजार ५ सय ४४, माओवादीको १ लाख १६ हजार ६ सय २४ मत आएको छ।
नयाँ शक्तिले २४ हजार ४ सय ७२ ल्याउँदा जनमोर्चाले १९ हजार २ सय ७४ ल्याएको छ भने अन्य पार्टीहरुको पक्षमा ५३ हजार ४ सय ६० मत छ।
यसैलाई आधार मानेर हेर्दा सामानुपातिकबाट ९/१० को हाराहारीमा कांग्रेस, एमाले र ३ सिट माओवादीले सांसद पाउने अवस्था रहेको छ भने नयाँ शक्ति र जनमोर्चाले समानुपातिकबाट १/१ सांसद हात पार्नेछन्।
कांग्रेसको अवस्था नाजुक
प्रदेश नम्बर ४ मा कांग्रेसको अवस्था नाजुक देखिएको छ। चार नम्बर प्रदेशको प्रतिनिधिसभाको १८ सदस्य मध्ये एउटामात्र सिट हातपारेको छ। कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वी क्षेत्रको कान्छो जिल्ला नवलपूरको क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।
यस प्रदेशबाट कांग्रेसले जितेको प्रतिनिधि सभाको सिट योमात्र हो। गण्डकी र धौलागिरिका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभा सदस्यमा एक सिट पनि हात पार्न सकेन।
प्रदेश नम्बर ४ मा धौलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन्। गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवलपुर क्षेत्रसहित ११ जिल्ला पर्छन्।