
पासाङ ठकुल्ला -
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनलाई अनुमोदन गरिसकेकाले पार्टी एकीकरणको विकल्प नरहेको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, 'हामीले बनाएको वाम गठबन्धन जनताद्वारा अनुमोदित भएको छ।'
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणको प्रकृया अगाडि बढ्ने बताउँदै भने, 'एकीकरणको कुनै विकल्प छैन।'
निर्वाचनबाट एमाले पहिलो र माओवादी दोस्रो पार्टीका रुपमा उदाएको बताउँदै प्रचण्डले दुई दलको 'फ्युजन'ले यस्तो परिणाम आएको बताए।
'एमाले र माओवादीबीचको फ्युजनले यस्तो परिणाम आएको हो,' उनले भने, 'यसमा एमालेलाई माओवादी र माओवादीलाई एमालेको योगदान छ।'
वाम गठबन्धनको जितले मुलुक स्थायित्व र समृद्धिको नयाँ युगतिर प्रवेश गर्न लागेको दावी गर्दै उनले यो युगलाई नेतृत्व गर्न आफूहरु तयार रहेको बताए।