PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बुटवल–बेलहिया सडक निर्माणमा ढिलाई, डेढ अर्ब बढ्यो लागत

बुटवल–बेलहिया सडक निर्माणमा ढिलाई, डेढ अर्ब बढ्यो लागत

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


बुटवल :   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुटबल बेलहिया सडक निमार्णमा ढिलाई हुँदा लागत डेढ अर्ब बढेको छ। 

सुरु भएदेखि नै सडक निर्माणको काम तिब्र गतिमा हुन सकेको छैन। सुरुमा ४ अर्ब ५० करोड रुपैयाँको  योजना भएपनि पछि बढेर ५ अर्ब ५० करोड पुगेको छ।

बजेट अभावका कारण लागत बढेको सडक बिस्तार आयोजनाले जनाएको छ ।  २०६८÷६९मा डिजाईन भएको सडकको अहिलेसम्म ६० प्रतिशत मात्र काम पूरा भएको छ। 

बेलहिया–बुटवलसम्मको व्यापारिक मार्गमा बजेट अभावमा ९ चरणमा ठेक्का दिइएको थियो।  सुरुमा  ३ किलोमिटरको २ प्याकेज  भएको थियो पछि अन्य प्याकेजको ठेक्का भएको थियो ।

९ वटा प्याकेजमध्ये अहिलेसम्म ४ वटा प्याकेज सकिएको र ५ वटा अबको १४ महिना भित्र निर्माण सम्पन्न हुर्नपर्नेछ। 

आधाभन्दा कम कामका लागि ६ वर्षभन्दा बढी समय लागेको छ भने अब १४ महिनामा बाँकी काम सकिन समस्या रहेको आयोजनाका इन्जिनियर योगेन्द्रबहादुर अधिकारीले बताए। उनका अनुसार अहिलेसम्म ३ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको छ।

बुटबलमा रहेको तीन किलोमिटर सडक निमार्णका लागि ठेक्का भएपनि अदालतमा मुद्धा परेकाले काम सुरु भएको छैन। यो सडक निर्माण २०७५ असोजसम्म सम्पन्न गर्नुपर्नेछ।

अन्य मार्गका तुलनामा यो मार्गको महत्व बढी छ। एकातर्फ गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा यसै सडकखण्डमा पर्दछ। 

उता नेपालको दोस्रो व्यापारिक नाका सुनौली तथा व्यापारिक क्षेत्र भैरहवादेखि महेन्द्र राजमार्गसँग जोड्ने एकमात्र मार्ग भएकाले पनि यो मार्ग नेपालकै गौरवको मार्गका रुपमा रहेको छ। 

बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरण भइरेहको अवस्थामा यो मार्ग व्यवस्थित सहरीकरणको एउटा नमुना मार्ग पनि हो। भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा  आउने भएकोले यसको विकासमा पनि यो मार्गको ठूलो महत्व रहने  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  सुरेन्द्र श्रेष्ठले बताए। 
 


ट्रेन्डिङ पोस्ट

Ncell