PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रदेश ५ को सम्भावित राजधानी बुटवलमा भवन खोजी गर्दै सरकारी टोली



पहिलोपोस्ट

प्रदेश ५ को सम्भावित राजधानी बुटवलमा भवन खोजी गर्दै सरकारी टोली

बुटवल :  पाँच नम्बर प्रदेशको राजधानी बुटवल बनाउनका लागि मन्त्रालय रहने सम्भावित भवनको खोजी गर्न थालिएको छ। क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय सहप्रशासक बाबुराम गौतम नेतृत्वको टोलीले बुटवलमा मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालय बस्नसक्ने सम्भावित भवन र क्षेत्रको अध्ययन गरेको छ। 

‘बुटवलमा प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने प्रशस्त कार्यालयहरु रहेका छन्,–बुटवलमा भवनको खोजीमा आएका क्षेत्रीय सहप्रशासक गौतमले भने–मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालयहरु बस्नका लागि आवश्यक कार्यालयहरु पर्याप्त भेटिए।’

उनले सरकारी कार्यालय तथा निजी क्षेत्रका ठूला भवनकोसमेत अवलोकन गरेका छन् । ‘प्रदेशको राजधानी बनाउनका लागि बुटवलमा ठूलो जोडबल देखियो, निजी क्षेत्र आफ्ना भवन दिनका लागि तयार छन्–उनले भने–बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघलेसमेत हाम्रा कार्यालयहरु सरकारले उपयोग गर्नसक्छ भनेर लिखित रुपमै दिएका छन ।

टोलीले बुटवलस्थित श्रम कार्यालय, सडक डिभिजन कार्यालय, ईलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धानको कार्यालय, सीप विकास तालिम केन्द्र, इलाका वन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालयलगायतका कार्यालयहरुको भवन निरिक्षण गरेको हो। 

‘श्रम कार्यालयको विशाल भवन बनिरहेको छ, यहाँ ३–४ वटा मन्त्रालय राख्न सकिन्छ, राजस्व अनुसन्धानको भवनमा २ वटा मन्त्रालय राख्न सकिन्छ, ईलाका प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालयका भवनहरु बनिरहेका छन्, यी र अरु पहिले देखिकै भवनहरु रहेका कार्यालयहरु पनि पर्याप्त छन्,–गौतमले निरीक्षण पछि भने–‘यहाँ भवन अपुग हुने देखिदैन, चलिरहेका कार्यालयहरुलाई अन्यत्र सारेर मन्त्रालयहरु राख्न सकिन्छ र अधिकांश भवनहरु नयाँ रहेकाले व्यवस्थापन गर्न पनि सहज हुन्छ ।’

उनले बुटवलमा राजधानी बनाउनका लागि पर्याप्त संरचनाहरु देखिएको र सहजै कार्यालय सञ्चालन गर्न सकिने बताए। 

‘पाँच नम्बर प्रदेशको राजधानीका लागि बुटवलमा कुनै समस्या देखिएन, उनले भने–सरकारले क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रतिवेदन तयार गर्न भनेको छ, हामी बुटवल उपयुक्त छ र कार्यालयहरु पर्याप्त छन् भनेर प्रतिवेदन पेश गर्नेछौं ।’ 

निजी क्षेत्रसँग सरकारले माग गरेमा भवन उपलब्ध गराउन सक्ने÷नसक्ने विषयमा छलफल गरेको छ। छलफलका क्रममा निजी क्षेत्रले प्रदेशको राजधानी बुटवलमा बनाउनका लागि पहल गरिरहेको र राजधानी बुटवल बनाउनका लागि भवन उपलब्ध गराउन तयार रहेको बताएको छ। 

‘हामीले सरकारले माग गरेमा आफ्ना भवनहरु दिन तयार छौं,–बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले भने–‘सरकारले लिजमा माग्छ भने लिजमा र खरिद गर्न माग्छ भने खरिद गर्न दिन्छौं, यसमा हामीमा समस्या छैन, राजधानी बुटवल बनाईयोस्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell