PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

राहुल गान्धीद्वारा भारतीय कांग्रेसको अध्यक्षको पदभार ग्रहण



पहिलोपोस्ट

राहुल गान्धीद्वारा भारतीय कांग्रेसको अध्यक्षको पदभार ग्रहण

नयाँदिल्ली :  राहुल गान्धीले आजदेखि भारतीय कांग्रेसको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।  गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन्। 

उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेकी थिइन्। भारतको पुरानो पार्टी कांग्रेसमा उनले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिने बताएकी छन्। 

कांग्रेसको सबैभन्दा माथिल्लो पदका लागि पाँच दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। 

राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरू भारतको प्रधानमन्त्री भएका थिए। 

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो। तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दावी छ। 

भारतीय कांग्रेसका कार्यकर्ताहरूले राहुलले पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरुले राहुल जिन्दावाद, राहुल गान्धी अमर रहुन्, लगायतका नारा लगाएका थिए। 

४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अब पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरेपनि कतिपयले भने संशय व्यक्त गरेका छन्। 

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो। 

सोनीय अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले कांग्रेसलाई आमनिर्वाचनमा नराम्ररी पराजित गरेको थियो। सोनिया गान्धी तीन वर्षदेखि बिरामी भई पटकपटक अस्पताल भर्ना भएर उपचार गराईरहेकी छन्।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ। रासस/एफपी/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell