PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

१० जायन्टलाई ढाल्ने १० असाधारण



नेत्र तामाङ

१० जायन्टलाई ढाल्ने १० असाधारण

यसपटकको निर्वाचनमा धेरै हेभिवेटहरुले हार व्यहोर्नुपर्यो। हेभिवेटमध्ये पनि जायन्ट मानिनेहरुसमेत पराजित भए।

आफ्नो क्षेत्रमा बलिया मानिने यस्ता जायन्ट उम्मेदवारलाई पराजित गराउने पात्रले अहिले सबैको ध्यान खिचेको छ। राजनीतिमा जायन्ट मानिने यस्ता हस्तीहरुलाई हराउने को हुन् त ?
हेरौं केही जायन्ट किलरहरु :

१ सिटौला हराउने राजेन्द्र लिङ्देन

झापा ३ मा राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापतिका प्रत्यासी कृष्ण सिटौलालाई पराजित गरे। सिटौलालाई पराजित गरेका लिङ्देन कट्टर राजावादी हुन्। राप्रपाका महामन्त्रीसमेत रहेका उनी राजतन्त्र फिर्ता ल्याउने विषयमा कमल थापा भन्दा पनि हार्डलाइनर हुन्। उनै लिङ्देन राजतन्त्रको जरै चाहिन्न भन्ने वामपन्थी गठबन्धनको सहयोगमा निर्वाचित भएका छन्।

लिङ्देन प्रधानपञ्च मानप्रसादका छोरा हुन्। २०२२ भदौमा जन्मेका लिङ्देनलाई कांग्रेस एमालेले मण्डले भनेर पनि आरोप लगाएका थिए। पूर्व राजा ज्ञानेन्द्रले शासन चलाउँदा सिटौलासँग पटकपटक हारेका लिङ्देन झापा जिविस सभापति नियुक्त भएका थिए।

लिङ्देन माओवादीका त तारो नै बनेका थिए। उनीमथि माओवादीले कुटपिटसमेत गरेको थियो। सिटौलाविरुद्ध लिङ्देनले २०५६ र २०७० मा पनि उम्मेदवारी दिएका थिए। ०६४ मा सिटौला माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए। त्यतिबेला भने लिङदेनले उम्मेदवारी दिएका थिएनन्।

ताप्लेजुङमा जन्मेका पाँचथरका लिङ्देन झापामा २०२९ मा बसाइँ सरी झरेका हुन्। उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका थिए।

२ बामदेव हराउने सञ्जय गौतम

वाम गठबन्धनका सुत्रधार मात्र हैन नेकपा एमालेका सेकेन्ड म्यानसमेत मानिने बामदेव गौतम यसपटक पराजित भए।

एमालेको किल्ला मानिने बार्दियामा उनलाई पराजित गर्ने को होलान् त ? सञ्जय कांग्रेस बर्दियाका सभापतिसमेत हुन्। २०२० भदौमा जन्मेका सञ्जयले २०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए। २०४९ मा वडाध्यक्ष भएका सञ्जय त्यतिबेला जिल्ला उपसभापतिका उमेदवार थिए। उनी त्यतिबेला ५ भोटले पराजित भए। 

गाउँमा पार्टी सचिव हुँदै जिम्मेवारी सम्हालेका उनी २०६४ मा पराजित भएका थिए। २०७० को निर्वाचनमा भने विजय भए र देउवा सरकारका सिँचाइ मन्त्री बन्न सफल भए।

३ रामचन्द्र हराउने कृष्ण

तनहुँ १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गराउने कृष्णकुमार श्रेष्ठ ‘किसान’ हुन्। निर्वाचन प्रचारकै क्रममा कांग्रेसको गढ भत्किसकेकाले आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए किसानले। 

‘किसान’ सँग पौडेल ६ हजार ८०२ मतले हारे। एमाले तनहुँका सल्लाहकार रहेका किसान २०२४ पुस ७ मा जामुनेमा जन्मेका थिए। २०४२ बाट राजनीतिमा लागेका उनी हार्डवेयर, यातायात, घरजग्गा व्यवसायीसमेत हुन्। २०७० मा निर्वाचनमा होमिएका किसान यही क्षेत्रबाट पराजित भएका थिए।

४ उपप्रधानमन्त्री हराउने पद्मा

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गराउने एमालेकी पद्मकुमारी अर्याल हुन्। अर्यालले ३ हजार ७०७ मतले श्रेष्ठलाई पराजित गरिन्। २०२५ पुसमा वालिङमा जन्मिएकी अर्यालले बिएडसम्मको अध्ययन गरेकी छन्। 

२०३९ बाट अनेरस्ववियुमार्फत राजनीति सुरु गरेकी उनी २०६९ देखि एमालेकी केन्द्रीय सदस्य हुन्। दोस्रो संविधानसभामा उनी समानुपातिकतर्फ सभासद् चयन भएकी थिइन्। तनहुँ एमाले अध्यक्षसमेत भएकी उनी एमालेमा चुनाव लडेर पहिलोपटक जिल्ला अध्यक्ष चुनिएकी व्यक्तिसमेत हुन्। 

५ पूर्व अर्थमन्त्री हराउने मोदी

कांग्रेसका वैचारिक नेता मानिने पूर्वअर्थमन्त्री महेश आचार्यलाई मोरङ ४ बाट वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादीका अमनलाल मोदीले पराजित गरिदिए। उनले ३३ हजार ५२९ मत पाए। आचार्यले २६ हजार ८०० मतमा चित्त बुझाए।

आचार्यलाई हार चखाउने माओवादी नेता मोदी २०४२ असोज ५ मा डंग्राहामा जन्मेका हुन्। स्नातकसम्म अध्ययन गरेका मोदीले २०५६ बाट राजनीति थालेका थिए।

२०५७ मा माओवादीका क्षेत्रीय सदस्य भएका उनी अनेरस्ववियूका जिल्ला अध्यक्ष हुँदै माओवादीको जिल्ला सदस्य बने। २०७० मा माओवादी निर्वाचन परिचालन कमिटि संयोजक रहेका मोदी समानुपातिक सभासद् बनेका थिए।

६ रामशरण हराउने हितबहादुर

कांग्रेसका चर्चित नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महत हराएर चर्चामा आए माओवादी नेता हितबहादुर तामाङ। माओवादी केन्द्रका सचिवालयसमेत रहेका तामाङ नुवाकोटको पञ्चकन्यामा २०२० सालमा जन्मेका हुन्।

निम्न वर्गीय किसान परिवारमा जन्मेका उनले २०३९ मा एसएलसी सकाए। २०३६ मा अनेरस्ववियुको छैटौं जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ मा जिल्ला सचिव भए।

उनी २०५१ मा संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य बने। जनयुद्ध घोषणापछि भूमिगत भएका उनी २०५३ मा नुवाकोट र रसुवाको संयुक्त जिल्ला इन्चार्ज थिए। तामाङ २०६३ मा गठित अन्तरिम व्यवस्थापिकामा सदस्य थिए। पहिलो र दोस्रो संविधानसभामा उनी महतसँगै भिडेपनि पराजित भएका थिए।

७ शमशेर हराउने शेर

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्षसमेत रहेका चर्चित नेता पशुपति शमशेर राणालाई दोस्रोपटक हराउँदै चर्चामा आए एमालेका शेरबहादुर तामाङ। दोस्रो संविधानसभामा एमाले एक्लै हुदाँसमेत आफ्नो पक्षमा जित निकालेका तामाङ यसपटकको चुनावी अभियानमा ढुक्क देखिन्थे। 

पहिलो संविधानसभामा राणा र तामाङ दुबै माओवीका दावा तामाङसँग पराजित भएका थिए। राणालार्इ दुर्इपटक हार चखाउने तामाङ २०२५ चैत १ मा सिन्धुकोटमा जन्मेका हुन। हाल उनी एमालेका केन्द्रीय सदस्य हुन्। 

मानवशात्र, समाजशात्र र इतिहासमा स्नातकोत्तर गरेका तामाङले कानुन विषयमा पनि स्नातकोत्तर गरेका छन्। तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति थालेका उनी ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए। २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव, २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बनेका तामाङ २०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य बनेका थिए।

८ उपप्रधानमन्त्री कमल थापा हराउने कृष्ण

राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान तथा उर्जामन्त्री कमल थापालाई मकवानपुर १ मा एमालेका कृष्णप्रसाद दाहालले पराजित गरिदिए।

दाहाल ४० हजार ६३१ मतसहित विजयी भए। थापाले ३४ हजार ६५८ मत प्राप्त गरे।  राप्रपा अध्यक्ष कमल थापाले २०५६ को मध्यावधि निर्वाचन जिते यता प्रत्यक्षमा चुनाव जितेका छैनन्। २०४८ सालको आमनिर्वाचनमा दाहालले नै थापालाई हराएका थिए। त्यस्तै २०५६ सालको संसदीय निर्वाचनमा पनि दाहालले थापालाई हराए।

२०२० सालको असारमा बकैया गाउँपालिकामा जन्मिएका नेता दाहालले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिमा उदाएका कृष्ण प्रसाद दाहाल २०४८ सालको चुनावमा र २०५६ सालको चुनावमा मकवानपुरबाटै सांसद निर्वाचित भए। दाहाल नेकपा एमालेको प्रदेश कमिटीका सदस्य हुन्।

९ डा शेखर कोइराला हराउने लालबाबु

कांग्रेसमा प्रभावशाली मानिने डा शेखर कोइरालालाई पराजित गर्ने एमाले नेता लालबाबु पण्डित हुन्। सामान्य प्रशासन मन्त्री भएपछि चर्चामा आएका पण्डित विराटनगरका मेयरसमेत हुने चर्चा चलेको थियो। 

कांग्रेसका शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरेका छन्। सर्लाहीबाट तत्कालीन मालेमा भूमिगत राजनीति गर्न मोरङ आएका लालबाबु पण्डितले पनि मोरङको क्षेत्र नम्बर ३ बाट २०४८ र २०५६ मा प्रतिनिधिसभामा चुनाव जितेका हुन्।

पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् भएका पण्डित दोस्रो संविधान सभाका सदस्य नभएपनि सामान्य प्रशासन मन्त्री भए।

विदेशमा ग्रिनकार्ड वा पिआर लिएका नेपालका सरकारी कर्मचारीलाई कारबाही गरेर ख्याति कमाएका पण्डित यसपछि राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा चिनिँदै आएका छन्।

एमालेका पोलिटब्युरो सदस्य रहेका लालबाबु सादा जीवन उच्च विचारको परिपालक भन्न रुचाउँछन्।

१० विमलेन्द्र निधि हराउने राजेन्द्र महतो

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भए।
 
यसअघि सर्लाहीबाट चुनाव लड्दै आएका महतो यो पटक धनुषा क्षेत्र नम्बर ३ मा आएका हुन्। उनको उम्मेदवारी पर्नासाथ निधिले आफुविरुद्ध षड्यन्त्र गरेको बताएका थिए।

महतोले ३० हजार ७४२ मत प्राप्त गरे भने निधिले २७ हजार ८२८ मत पाए। वाम गठबन्धनले अनौपचारिक रुपमा महतोलाई सघाएको थियो।

राजपाका अध्यक्ष मण्डलका नेता महतोको जन्म २०१५ साल मंसिर ४ गते बबरगन्ज ८ सर्लाहीमा भएको हो। उनले मानविकी कानुन विषयमा स्नातकोत्तर गरेका छन्।  २०४६ सालबाट राजनीतिक यात्रा सुरु गरेका उनी सदभावना पार्टीबाट राजनीतिमा आएका थिए। सद्भावना पार्टीका अध्यक्षसमेत भए। 

०४८ र ०५१ को आम चुनाव सर्लाही २ मा कांग्रेसकी मीना पाण्डेसँग पराजित भएका उनी ०५६ मा सूर्यबहादुर थापा र मीना पाण्डेलाई हराएर पहिलो पटक सांसद भए। ०६४ मा संविधानसभा सदस्यको चुनाव जितेपनि तर, ०७० मा सर्लाही ४ मा उठेका उनी तत्कालीन महसपाका महेन्द्र राय यादवसँग पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell