
ढाका : भोलीदेखी सुरु हुने साफ यू–१५ महिला फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक बंगलादेश विरुद्व खेल्दैछ।
खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम सुरु हुनेछ।
खेलअघि शनिबार भएको प्रिम्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले टोलीले निरन्तर अभ्यास गरेको र डिफेन्स बलियो भएकोले नेपाल फाइनल पुग्ने बताएकी छन्।
सहभागि सबै देशको खेललाई मध्यनजर गर्दै टोलीलाई प्रशिक्षण गराएकाले फाइनल पुग्ने उनको दावी छ।
यस्तै कप्तान प्रिती राईले टोलीमा सबै खेलाडीबिच राम्रो समन्वय रहेको र एकअर्काको खेल्ने तरीकालाई बुझेका कारण प्रतियोगितामा जित हात पार्न सहज हुने बताएकी छन्। राईले नेपालको डिफेन्स, मिडफिल्ड, फरवार्ड सबै पक्ष राम्रो रहेको प्रतिक्रिया दिइन्।
राष्ट्रिय टोलीबाट पहिलो पटक अन्तर्राष्टिय प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको र आफूले पाएको अवसरलाई सुदपयोग गर्ने राईको दावी छ।
४ टिम सम्मिलित प्रतियोगितामा नेपालले दोस्रो खेल पुष ४ गते भारत र तेस्रो खेल ६ गते भुटानसंग खेल्नेछ। राउन्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधिका लागि पुष ९ गते प्रतिस्पर्धा हुनेछ।