.jpg)
- कृष्ण दर्नाल
पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र पाल्पाली जनताले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको बताएका हुन्।
पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको सहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको एमाले नेता सोमप्रसाद पाण्डेयले बताए।
उनले भने,‘देशको सन्तुलित विकास, जनताको हित र सुविधालाई सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था गरिएको केन्द्र तोक्दा सबैलाई पायक पर्छ।’
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताए।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गरे।रासस