काठमाडौं: फिल्म 'लालपूर्जा'का कलाकारहरुको फिल्मी लुक्स रिलिज भएको छ। माघ ४ गते रिलिज हुने फिल्मको निर्माण युनिटले प्रचारका लागि डेब्यु कलाकार लेखक कुमार नगरकोटी, मुख्य कलाकार सौगात मल्ल, मिरुना मगर लगायतको लुक्स सार्वजनिक गरेको हो।
लालपूर्जामार्फत 'छड्के' निर्देशक निगम श्रेष्ठले इन्डस्ट्रीमा कमब्याक गरेका छन्। त्यस्तै फिल्ममा फिक्सन डिजाइनर कुमार नगरकोटी पनि देखिंदैछ। फिल्म बारे उनले आफ्नो पछिल्लो किताबमा रमाइला प्रसङ्गहरु पनि समावेश गरेका छन्।
मिस्टिक कमेडी जानरामा फिल्म बारे निर्माता एवं अभिनेता विक्रमसिंह थारुले भने,'भौतिक पदार्थको महत्व सकिएपछि उत्पन्न हुने आध्यात्मिकता यसको कथावस्तु हो। फिल्म मेनस्ट्रिम विषयबस्तुबाट हटेर कलाको खोजीमा उत्रिएको छ।’ फिल्ममा थारु, निगम श्रेष्ठ र नगरकोटीको संयुक्त लेखन रहेको छ।
निर्देशक श्रेष्ठले मिस्टिकलाई नेपाली फिल्ममा पहिलो जानराको रुपमा टिप्पणी गरे।
सौगातसहित बिपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधान, कमलमणी नेपाल, मिश्रि थापा र अनिल पाण्डेको अभिनय छ।