PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

हारको जिम्मा लिँदै देउवाले राजीनामा दिनुपर्छ : प्रकाशमान सिंह



नेत्र तामाङ

हारको जिम्मा लिँदै देउवाले राजीनामा दिनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी हारको जिम्मेवारी पार्टी शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्।

पहिलोपोस्टसँगको विशेष कुराकानीमा पार्टी उपसभापतिसमेत रहिसकेका सिंहले नेतृत्वकै कमजोरीका कारण निर्वाचनमा पार्टी खस्केकाले पार्टी सभापति देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्।

यसपटक देउवाकै नेतृत्वमा पार्टी निर्वाचनमा गएको र नतिजा सन्तोषजनक नआएको उल्लेख गर्दै सिंहले भने, ‘पार्टीले हार व्यहोरिसक्यो। यसको नैतिक जस/अपजस पार्टी सभापतिले लिनुपर्छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार जसको नेतृत्वमा चुनावमा जाँदा निर्वाचनमा हार हुन्छ, उनीहरुले राजीनामा गर्ने चलन छ।’

निर्वाचन प्रचारमा निस्किँदा ७० सिट जित्ने दाबीका साथ कांग्रेस चुनावमा होमिएको थियो। तर, कांग्रेसले प्रत्यक्षमा २३ सिटमा चित्त बुझाउनुपरेको मुख्य कारण पार्टीको नेतृत्व भएको सिंहको दाबी थियो।

प्रजातान्त्रिक पार्टीका सभापतिले अप्रजातान्त्रिक शैलीमा पार्टी चलाएको भन्दै उनले भने, ‘कांग्रेस अनपपुलर पार्टी हैन। पार्टीलाई जुन तवरले हाँकिएको, सरकारमा रहँदा जुन किसिमले जनभावनाअनुसार काम गर्नुपर्ने थियो, त्यो नगरेकोले यस्तो भएको हो।’ 

१३ औं महाधिवेशनपछि नेतृत्वमा आएका पदाधिकारीकै कमी कमजोरीका कारण पार्टीले हार व्यहोर्नुपरेको सिंहको तर्क रह्यो। पार्टीमा विशेष गरी १३ औं महाधिवेशनमा आएका पदाधिकारीले नै पार्टीलाई गतिहीन बनाएकाले पार्टीको चुनावी नतिजा खस्केको उनको तर्क थियो।

प्रकाशमानले भने, ‘१३ औं महाधिवेशन भएको दुई वर्ष हुन लागिसक्यो। न पार्टी नेतृत्वले महासमिति बोलाएको छ, न केन्द्रीय कार्यसमिति पदपूर्ति हुन सकेको छ। न कुनै विभाग बनाएको छ। पार्टीलाई त टोटल्ली गतिहीन अवस्थामा छाडेको छ। न संरचना पूरा गरेको छ। न संगठनका गतिविधि अगाडि बढेको छ।’

पार्टीलाई कमजोर बनाउने मात्र नभइ उम्मेदवारी चयनमा समेत नेतृत्वले गल्ती गरेको उनको आरोप थियो। उम्मेदवार चयनमा स्थानीय लोकप्रिय नेतालाई ठाउँ नदिइ नक्कली नेताहरु आएकाले नतिजा राम्रो नआएको सिंहले बताए।

उनले भने, ‘उम्मेदवार चयनमा पनि प्रजातान्त्रिक विधिलाई ख्याल नगरी, स्थानीय लोकप्रियता र आम कार्यकर्ताको भावनालाई ख्याल नगरेकाले प्रत्यक्षमा नतिजा यस्तो भयो।’ 

कांग्रेसमा नेतालाई रिझाउने तर जनता र मतदातालाई चै केही नगन्ने ट्रेन्ड आएको र यसैले पार्टीलाई क्षति पुर्याएको सिंहको भनाई थियो। उनले भने, ‘पार्टीमा नेतालाई मात्र मान्ने लाइन चलेको छ। यो ज्यादै नै नराम्रो ट्रेन्ड हो। यसले गर्दा शर्मनाक हार हुने नेताहरु पनि देखिए। यस्ता नक्कली नेताहरुलाई ठाउँ दिनुहुन्न। करेक्सन गरेर अघि बढ्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell