
बेलायत राजकुमार प्रिन्स ह्यारी र अभिनेत्री मेघन मर्केलको विवाहको खबर केही साताअघि नै सार्वजनिक भएपनि मिति तय भएको थिएन। उनीहरु सन् २०१८ को १९ मेमा पति पत्नी बन्ने भएका हुन्।
यी दुई पब्लिक फिगरको विवाह मितिले ह्यारीका दाइ विलियमलाई समस्या हुन सक्छ। मे १९ तारिखकै दिन एफए कप फुटबलको फाइनल भएकाले विलियमलाई समस्या हुने भएको हो। किनकी उनी फुटबल असोसियसनका प्रेसिडेन्ट समेत हुन्।
दुबै महत्वपूर्ण समारोहका लागि विलियमले कसरी मिलाउलान् समय?
प्रिन्स ह्यारी र अभिनेत्री मर्केलको विवाह विन्सोर क्यास्टेलको सेन्ट जर्ज च्यापेलमा ह्यारीकी हजुरआमा क्विन एलिजावेथ, राज परिवार, आफन्त र मार्केलका आमा बुवा डोरिया रागल्यान्ड र थोमस मर्केलको उपस्थिति बिच हुने जनाइएको छ। प्राय राज सदस्यको विवाह साताको बिचमा हुने भएपनि ह्यारीको शनिबार हुने भएको हो। उक्त दिन लन्डनकै वेम्ब्ले स्टडियममा एफए कपको फाइनल हुँदैछ।
इङ्गल्यान फुटबल असोसियसनले विज्ञप्ती जारी गर्दै लेख्यो,'मे १९ निकै रोमाञ्चक दिन हुनेछ। इङ्ग्लिस फुटबलकोसँगै राज परिवारमा पनि ठूलो समारोह आयोजना हुँदैछ।'
३३ वर्षिय ह्यारी र ३६ वर्षिय मर्केलले १८ महिना लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्।