जकार्ता : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको छ।
निर्णयको विरोधमा अमेरिकाविरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको हो। यसैक्रममा आइतबार गरिएको अमेरिकाविरुद्धको प्रदर्शनमा दशौँहजार मुस्लिम नागरिकको सहभागिता रहेको जनाइएको छ।
प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान भएको थियो।
राष्ट्रपति ट्रम्पको निर्णयको विरोध चर्कंदै गर्दा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी राजदूतावास अगाडि पनि विरोध जुलुस निकालिएको थियो।
आइतबार पनि इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावासतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो। त्यस क्रममा उसले अश्रु ग्याँस र पानीको फोहरा हानेको थियो।
प्रदर्शनमा यहाँका सरकारी मुस्लिम संगठनहरुको पनि समर्थन र सहभागिता रहेको छ। ती संगठनहरुलाई इन्डोनेसियाको सरकारले पनि समर्थन गरेको जनाइएको छ।
उता हालैका दिनहरुमा अमेरिकासँग राम्रो सम्बन्ध कायम रहेका संयुक्त अरब इमिरेट्स र साउदी अरेबियासमेत सम्मिलित अरब लिगले पनि राष्टपति ट्रम्पको यस निर्णयको आलोचना गरेका छन्।
राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनुपर्नेमा उनीहरुले आह्वान गरेका थिए।रासस/एएफपी