
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन्।
गृहजिल्ला तनहुँमा मतदातालाई धन्यवाद दिन आएका वरिष्ठ नेता पौडेलले दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु गलत भएको बताए।
राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया सुरु नहुने पौडेलको भनाइ थियो।
पौडेलले सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको बताए।
आइतबार वरिष्ठ नेता पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिएका छन्। चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागिरहने पौडेलले बताए। पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठसँग चुनावमा पराजित भएका थिए।रासस