
काठमाडौं : नेपाल मोटर स्पोर्ट्स क्लबले यही पुस १५ गते प्थम भलक्स्वगन राष्ट्रिय अटो जिमखाना च्याम्पियन आयोजना गर्ने भएको छ।
नेपाल अटोमोबाइल एसोसिएसन नासासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुदविकास समितिको समन्वयमा उक्त च्याम्पियन गर्न लागेको आयोजकले आइतबार जानकारी दिएको हो।
यसअघि टाइम, डिस्ट्यान्स र स्पीड ढाँचामा मोटर रेस तथा र्यालीहरु हुँदै आएपनि नेपालमा अटो जिमखाना च्याम्पियन हुन लागेको यो पहिलो पटक हो।
काभ्रेको धुलिखेल नगरपालिकामा तयार पारिएको हिमालयन मोटर ल्याण्डमा हुने उक्त च्याम्पियनसिपमा कूल ६४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा उच्च अंक ल्याउने १६ खेलाडी दोस्रो चरणमा प्रवेश गर्नेछ र दोस्रो चरणका उत्कृष्ट ८ खेलाडीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ।
च्याम्पियन बन्ने खेलाडीले अर्को वर्ष इन्डोनेसियामा हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।
यस प्रतियोगितामा सहभागि खेलाडीले १ सय ५० फिट लामो रेसिङ कोर्समा आयोजकले दिएको ढाँचा अनुसार गाडी चलाउनुपर्नेछ।