
काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको साफ यू-१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६-० ले पराजित भएको छ।
च्याम्पियन बन्ने लक्ष्यका साथ बंगलादेश पुगेपनि नेपालले पहिलो खेलमै घरेलु टोलीसँग फराकिलो हार बेहवर्दै प्रतियोगिताको सुरुवात गरेको छ।
बंगलादेशको लागि तोहुरा खातुन एक्लैले ४ गोल गरिन्। नेपालका मनमाया बिकको आत्मघाती गोलबाट पहिले अग्रता लिएको बंगलादेशले पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा नेपालले खेलमा सुधार गरेपनि बंगलादेशको काउन्टरलाई रोक्न नसक्दा थप दुई खान बाध्य भयो।
आजै भएको पहिलो खेलमा भारतले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा बंगलादेश, नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपालले अब दोस्रो खेलमा मंगलबार भारतसँग खेल्नेछ। लिगको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ।