काठमाडौं: केकी अधिकारी र नाजिर हुसेन अभिनित फिल्म 'राज्जा रानी'ले सोमबारदेखि देशव्यापी प्रचार अभियान सुरु गरेको छ। मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिन मनाउँदै फिल्म युनिटले दस दिने मोफसल यात्रा घोषणा गरेको हो।
क्याम्पेनबारे जानकारी दिन आयोजित सम्मेलनमा मैथिली संस्करणको ट्रेलर एवं गीत लन्च गरियो। सामाजिक संस्था भोर नेपालले बिराटनगर, बीरगंजसहित पूर्वी तराईका फिल्म हलहरुमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्दैछ।
नेपाली र मैथिली दुबै संस्करणमा फिल्म पुस २१ गते रिलिज हुँदैछ। भोर संस्थाका संयोजक राजकुमार महतोेले बाल विवाह एवं दाइजो विरुद्धको जागरणमा अभियानमा फिल्म रिलिज प्रभावकारी हुने आशा राखेको बताए। भने,'हाम्रो संस्थाको उद्देश्य र फिल्मको कथावस्तुमा समानता भएपछि यो फिल्म मैथिली भाषामा प्रदर्शन गर्न लागेका हौं।'
पूर्वी तराईसहितका नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा पनि फिल्म देखाइने भएको छ ।
प्रचार अभियानमा खुला कन्सर्ट समेत गरिने भएको छ। कलाकार, निर्माता, निर्देशक र सांस्कृतिक टोली सहभागि छ। याम थापा निर्देशित सिनेमामा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ। मैथिली भर्सनको गीतलाई दीपक शर्माले कम्पोज गरेका छन् जसमा राजेन्द्र थापाको शब्द एवं नरहरि प्रेमी र अन्जु यादवको स्वर छ।
बर्थडे सेलिब्रेसन बारे केकीले भनिन्,'मलाई जन्मदिनको एउटा कुरा निकै रमाइलो लाग्छ। बच्चा बन्न पाइन्छ।’ उनले उमेरसँगै जिम्मेवारी बढ्ने र हाललाई एक जिम्मेवार अभिनेत्रीको रुपमा फिल्मको प्रचार प्रसार महत्वपूर्ण भएको जनाइन्।