
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल को उद्घाटन खेलमा सोमबार काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित टी यू इन्टरनेशनल मैदानमा बिहान ११ बजे सुरु हुनेछ।
काठमाडौं श्रीलंकन खेलाडी फरविज महारुफको कप्तानीमा मैदान उत्रनेछ भने ललितपुरको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले गर्नेछन्।
ज्ञानेन्द्र ललितपुरका मार्क्यु प्लेअर समेत हुन्। काठमाडौंको मार्क्यु प्लेअर सोमपाल कामी हुन्।
दुवै टिमका कप्तानले भोलीको खेलका लागि उत्साहित रहेको र राम्रो क्रिकेट खेल्ने बताए।
पहिलो पटक नेपाल आएर फ्रेन्चाइज क्रिकेट टिमको कप्तानी गर्न लागेका श्रीलंकन मारुफले आफ्नो टिम योङ रहेको र आफूसँग भएको अनुभव उनीहरुसँग सेयर गर्ने बताए।
उनले नेपाल आफ्नो लागि नयाँ भएपनि हिजो दिनभरी खेलाडीसँग ट्रेनिङ गरेको र खेल जित्ने दावी गरे। महारुफसँगै काठमाडौं किंग्समा श्रीलंकन खेलाडी अक्षस फर्नान्डेज र भारतीय खेलाडी सागर कुमार विदेशी खेलाडीको रुपमा रहनेछन्। यस्तै नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका सोमपालसँगै जितेन्द्र मुखिया, सागर पुन, राजु रिजाल, नरेश बुढाएर, युवा स्पीनर सुशील कँडेल जस्ता खेलाडी काठमाडौंको टिममा छन्। यस्तै अलराउण्डर सिद्दान्त लोहनी र अमर सिंह रौउटेला पनि काठमाडौंको टिममा छ।
यता ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताअघि नेशनल ड्युटिका कारण धेरै तयारी गर्न नपाएपनि उद्घाटन खेलका लागि तयार रहेको बताए।
आइपीएल खेलिकसका योगेश नगरसहित तीन भारतिय खेलाडीलाई ल्याएको ललितपुर प्याट्रिओट्सले विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ।
विदेशी खेलाडीबाट आफू सन्तुष्ट रहेको ज्ञानेन्द्रले प्रतिक्रिया दिए। पेपरमा ललितपुर अन्य टिम भन्दा बलियो दिखन्छ नि भन्ने जिज्ञासामा ज्ञानेन्द्रले सबै टिम उस्तै रहेको र ३ जना विदेशी खेलाडी राख्नुपर्ने प्रावधानले सबै टिम राम्रो रहेको बताए। उनले काठमाडौं किंग्समा अहिले खेलिरहेका खेलाडीसँगै अनुभवी विदेशी खेलाडी महारुफ समेत रहेकाले राम्रो रहेको प्रतिक्रिया दिए।
ललितपुरमा ज्ञानेन्द्रसँगै राष्ट्रिय टिमका युवा स्टार सन्दीप लामिछाने, भेट्रान अलराउण्डर मेहबुब आलम, कुशल, ललित राजवंशी, शंकर राना, पवन सारफ जस्ता खेलाडी छन्।
उपत्यकामा रहेको शहरको नामबाट इपीएल खेल्ने काठमाडौं र ललितपुर मात्र हुन् । बाँकी चार टिमको नाम मोफसलको शहरबाट राखिएको छ।