.jpg)
काठमाडौं : नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा टीम च्याम्पियन भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार सम्मपन्न च्याम्पियनसिपमा आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो। आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य तथा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्यो।
नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दुतावासको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषमा नेपाल पुलिसले ३ स्वर्ण, १ रजत तथा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्दै क्रमशः टिम दोस्रो र तेस्रो भयो। महिला पनि पुलिसले ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै दोस्रो हुन सफल भयो। तेस्रो भएको कोटेश्वरले २ रजत पदक मात्र जित्यो।
जुनियरतर्फ महिलामा आर्मीले ३ स्वर्ण र २ रजत तथा पुरुषमा कोटेश्वरले ३ स्वर्ण र १ रजत पदक जित्दै च्याम्पियन बने। महिलामै युनाइटेड तेक्वान्दो डोजाङले १ स्वर्ण र १ रजतका साथ दोस्रो तथा शिक्षा अभियान १ स्वर्ण र १ कांस्य पदक जित्दै तेस्रो हुन सफल भए। पुरुषतर्फ दोस्रो भएको सीतापाइला तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र २ कांस्य जित्दा तेस्रो भएको ललितपुरले १ स्वर्ण र १ कांस्य पदक हात पारेको थियो।
समग्र टिम पुम्सेमा पुरुषतर्फ पुलिस पहिलो, स्युचाटार दोस्रो र जेशिस स्कुल तेस्रो भयो। महिला टिम पुम्सेमा पुलिस पहिलो, स्युचाटार दोस्रो र आर्मी तेस्रो हुन सफल भयो।