
पाकिस्तान : पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्।
क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत् दिएको जानकारी अनुसार आत्मघाती आठजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। घटनामा थप केही जना गम्भीर घाइते भएकाले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताए।
स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन्। घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ।
बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले चार जनाको समूहमा आएका आतङ्ककारीले जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताए।
आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रवेश गर्न खोज्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले बताए। दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन्।
आक्रमण हुँदा चर्चमा प्रार्थनाका लागि करिब ५०० धर्माबलम्बी रहेका थिए। घटनामा घाइते भएका सबैको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। रासस/सिन्ह्वा