PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

चुनावी परिणामसँगै हृदयश र ब्रिजेशको 'स्वतन्त्र विचार समूह'को अवसान



बीपी साह

चुनावी परिणामसँगै हृदयश र ब्रिजेशको 'स्वतन्त्र विचार समूह'को अवसान

काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भई स्वतन्त्र विचार समूह गठन गरेका हृदयेश त्रिपाठीलगयातका नेताहरु अन्ततः एमाले नै भएका छन्। जितसँगै 'स्वतन्त्र विचार समूह'को अवसान भएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र विचार समूहबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका दुई जना विजयी भए- नवलपरासी एकबाट त्रिपाठी र कपिलबस्तु दुईबाट बृजेश गुप्ता।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पहिलोपोस्टसँग भने, ‘जुन पार्टीको चुनाव चिन्ह लिएर चुनाव जितेको छ, त्यो सांसद त्यही पार्टीको हुन्छ। निर्वाचन आयोगले त्यस बाहेक अरु केही बुझ्दैन।’

प्रवक्ता ढकालले त्रिपाठीलगायतका मात्र नभई अन्य दलमा पनि यस्तो रहेकाले चुनाव चिन्ह भएकै पार्टीका सांसद भएको हुने बताए। उनीहरुको स्वतन्त्र हैसियत मत परिणामसँगै सकिएको छ।

यी दुवै नेताले आफूहरु स्वतन्त्र नै रहेको बारम्बार दाबी गर्दै आए पनि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ४ मा भनिएको छ- आयोगले कुनै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको निर्वाचन चिह्न परिवर्तन हुने छैन। त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुनेछ।

यता पहिलोपोस्टसँग कुराकानी गर्दै बृजेश गुप्ताले कानुनी प्रावधानका कारण आफुहरु एमाले नै हुनुपर्ने बाध्यता रहेको बताए। 

‘मधेशको अधिकारका लागि हामीले संघर्ष गर्दै आएका छौं,’ गुप्ताले भने, ‘अब एमालेभित्रै रहेर संघर्ष गर्नेछौं।’

मधेशको मुख्य एजेण्डा संविधान संशोधन एमाले बाहेकले गर्न नसक्ने भन्दै संविधान संशोधनका लागि आफुहरुले पार्टीभित्र दबाब दिने गुप्ताले बताए। मधेशमा चर्को आन्दोलन हुँदा यी दुवै नेता नेकपा एमालेका चर्को विरोधीका रुपमा स्थापित थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell